धनगढी/काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका सांसद प्रकाशबहादुर देउवा महिनौँदेखि सम्पर्कविहीन भई अन्त्यतः अमेरिका पुगेको खुलासा भएको छ।
देशमा ‘जेन-जी’ विद्रोहको रापताप सुरु भएदेखि नै गायव रहेका प्रकाशले मंगलबार मात्रै प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै आफू अमेरिकामा रहेको “सप्रमाण” जानकारी गराएका छन्।
देउवा दम्पतीसँग सम्बन्धमा दरार
राजनीतिक वृत्तमा प्रकाशको यो पलायनलाई सामान्य रूपमा मात्र हेरिएको छैन। स्रोतका अनुसार, यसको पछाडि शक्ति, पद र सम्पत्तिको भित्री खेल लुकेको छ। विशेषगरी काका शेरबहादुर देउवा र काकी आरजु राणा देउवासँग सम्बन्ध चिसिएपछि उनी देश छाड्ने निर्णयमा पुगेको बुझिएको छ।
प्रकाश सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने दौडमा थिए। तर, देउवा दम्पतीले उनलाई पूर्ण सहयोग नगरेको उनको बुझाइ रहेको स्रोतको दाबी छ। मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेपछि बालुवाटारसँग उनको दूरी बढ्न थालेको थियो।
सम्पत्तिको भित्री विवाद
सत्ता मोहभन्दा पनि रोचक विषय सम्पत्तिको लेनदेनसँग जोडिएको छ। आरजु देउवाले प्रकाशकी श्रीमतीको नाममा राखेको सम्पत्ति प्रकाशले फिर्ता गर्न नमानेपछि पारिवारिक ‘शितयुद्ध’ सुरु भएको स्रोतको दाबी छ। यही आन्तरिक विवादकै बीच उनी पलायन भएका हुन्।
दिल्ली हुँदै अमेरिकाको यात्रा
देशमा ‘जेन-जी’ आन्दोलन चर्किएकै बेला प्रकाश काठमाडौंबाट जहाजमार्फत नेपालगन्ज झरेका थिए। त्यहाँबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पुगेर उनी सुटुक्क अमेरिका उडेको निकट स्रोतहरू बताउँछन्। स्मरण रहोस्, उनका श्रीमती र छोराछोरी भने एक वर्षअघि नै अमेरिका सेटल भइसकेका थिए।