सर्लाही प्रहरीले साढे ९ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका विजय रायलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाएको छ। जिल्ला प्रहरी कार्यालय मलंगवाले २०८३ कात्तिक ११ गते प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।
पक्राउ पर्नेमा सर्लाहीको साविक रामनगर बहुअर्वा (हाल रामनगर गाउँपालिका वडा नं. ३) ठेगाना भएका अन्दाजी ५५ वर्षीय विजय राय रहेका छन्। प्रहरीले उनलाई उनकै घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
९ वर्ष ६ महिना २ दिनपछि पक्राउ
प्रहरी विज्ञप्तिका अनुसार, २०७३ चैत १६ गते राति करिब १९:३० बजे सर्लाहीको साविक रामनगर बहुअर्वामा कुटपिटको घटना भएको थियो। सोही ठाउँका विजय रायसमेतका व्यक्तिहरूले रामनगर गाउँपालिका वडा नं. ४ ठेगाना भएका नागेन्द्र कुमार प्रसादलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
गम्भीर घाइते भएका प्रसादलाई थप उपचारका लागि काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएकोमा उपचारकै क्रममा २०७३ चैत २३ गते उनको मृत्यु भएको थियो।
उक्त घटनापछि अभियुक्त राय फरार भएका थिए। घटना भएको ९ वर्ष ६ महिना २ दिनपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
अदालतको आदेशमा कारागार चलान
पक्राउ परेका प्रतिवादी रायलाई सर्लाही जिल्ला अदालतमा दाखिला गराइएको थियो। अदालतको आदेशानुसार उनलाई कर्तव्य ज्यान कसुरमा पुर्पक्षका लागि कारागार चलान गरिएको निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर के.सी.ले जानकारी दिएका छन्।
