राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति तथा सिरहा–४ का सांसद इ. तपेश्वर यादव मंगलबार धनुषाको विदेह नगरपालिका–३, गोबराहीस्थित काली मन्दिर पुगेका छन्। उनको आगमनले गाउँमा उत्साह छाएको स्थानीयले बताएका छन्।
डा. रजनीश यादवको निमन्त्रणामा गोबराही पुगेका सांसद यादवलाई स्थानीय बासिन्दाले मिथिलाको परम्पराअनुसार पाग र गम्छा ओढाएर भव्य स्वागत गरे। यस क्रममा रास्वपा विदेह–३ का वडा सभापति संजीव कुमार झासहित गाउँका बुढापाका, युवा तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।
काली मन्दिर परिसरमा स्थानीयसँगको भेटघाटमा सांसद यादवले गाउँका समस्याबारे जानकारी लिए। उनले नजिकिँदै गरेको छठ पर्वको तयारीका विषयमा पनि चासो व्यक्त गरे। यस वर्ष छठ पर्व कार्तिक २९ गते (१५ नोभेम्बर) मा पर्दैछ।
गोबराहीमा हालै कालीपूजा तथा कलश यात्रा सम्पन्न भएको थियो।

