भारतले रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण (एफएलएस) सम्पन्न भएको घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यसको स्वागत गरे। यो परियोजनाको अनुमानित लागत करिब साढे ४ खर्ब रुपैयाँ लाग्ने र यसमा ४२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ।
यो रेलमार्ग सञ्चालनमा आएपछि हाल सडकमार्गबाट रक्सौलदेखि काठमाडौं पुग्न लाग्ने ६ देखि ८ घण्टाको यात्रा करिब साढे २ घण्टामा पूरा हुने दाबी गरिएको छ। यसले यात्रु र मालसामान ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
पृष्ठभूमि
- सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन प्रक्रिया अघि बढेको थियो।
- सन् २०१८ मा भारतले रेलमार्गको 'प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक' (पीईटी) सर्वेक्षण सम्पन्न गरी नेपाललाई बुझाएको थियो।
- सन् २०२१ को अक्टोबरमा नेपाल र भारतबीच एफएलएस अघि बढाउने सम्बन्धमा द्विपक्षीय समझदारी (एमओयू) भएको थियो।
परियोजनाको लागत र विस्तृत विवरण
प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको कुल लम्बाइ १३६ किलोमिटर हुनेछ। यसमा करिब ४२ किलोमिटर सुरुङ र १२४ वटा ठूला पुल निर्माण गर्नुपर्नेछ। रेलको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा रहने प्रस्ताव गरिएको छ। यो परियोजना निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्न सकिने बताइएको छ।
यस परियोजनाको लागत अनुमान विगतका वर्षहरूमा बढ्दै गएको छ। सन् २०१९ को प्रारम्भिक सर्वेक्षणमा करिब साढे २ खर्ब रुपैयाँ अनुमान गरिएकोमा, सन् २०२२ मा ३ खर्ब २० अर्ब रुपैयाँ पुगेको थियो। हालको अनुमानित लागत करिब साढे ४ खर्ब रुपैयाँ पुगेको छ र मूल्यवृद्धिका कारण ५ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान छ। रेलमार्ग निर्माणका लागि कुल १४७८.२०० हेक्टर जमिन उपयोग हुनेछ, जसमध्ये ५८० हेक्टर निजी जमिन अधिग्रहण गर्नुपर्नेछ। व्यक्तिगत जमिनको मुआब्जाबापत मात्रै २७ अर्ब २४ करोड ८४ लाख २९ हजार १६७.८० भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
मधेश प्रदेशमा पर्ने प्रभाव
यो रेलमार्ग रक्सौलबाट सुरु भएर वीरगञ्ज हुँदै निजगढसम्म पुग्नेछ। यसले मधेश प्रदेशका सीमावर्ती क्षेत्रदेखि काठमाडौं उपत्यकासम्म यात्रु तथा मालसामान ढुवानीलाई सहज बनाउने सम्भावना छ। आर्थिक नगरीका रूपमा परिचित वीरगञ्ज हुँदै आउने रेलले भारतबाट आयात भएका मात्रै नभएर वीरगञ्ज–सिमरा औद्योगिक करिडोर तथा नेपालको पूर्वी र मध्य क्षेत्रबाट उत्पादित औद्योगिक उत्पादनलाई निजगढ हुँदै काठमाडौंसम्म ढुवानी गर्न सहज मार्ग प्रदान गर्नेछ। यसबाट ढुवानी लागत घट्ने र बजारमा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।
परियोजनाको आगामी कदम
भारतले बुझाएको प्रतिवेदनमा नेपाल सरकारले अध्ययन गरी विभिन्न विषयमा आफ्ना राय र प्रतिक्रिया दिनेछ। नेपालको प्रतिक्रियाका आधारमा प्रतिवेदनले अन्तिम रूप पाउनेछ र भारतले नेपाललाई अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नेछ। नेपाल सरकारको स्वीकृतिपछि मात्र यो परियोजना व्यवहारिक रूपमा अघि बढ्नेछ।