NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भाषा मौलिक पहिचानको आधार स्तम्भ हो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषालाई मौलिक पहिचानको आधार स्तम्भ बताएकी छन्। उनले भाषाको संरक्षण र यसको व्यावहारिक प्रयोग विस्तारमा जोड दिँदै यसले सभ्यता, संस्कृति र इतिहास जोगाउन मद्दत गर्ने बताइन्।
Rohan Tamang
Rohan Tamang
7 May 2026, 2:43 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषालाई मौलिक पहिचानको आधार स्तम्भ बताएकी छन्। भाषा दिवसको अवसरमा सम्पूर्ण भाषाप्रेमीहरूलाई शुभकामना दिँदै उनले भाषा केवल संवादको माध्यम नभई सभ्यता, संस्कृति र सामूहिक स्मृतिको संवाहक भएको उल्लेख गरिन्।

उनले हरेक समुदायले आफ्नो भाषा जोगाउन सकेमा मात्र आफ्नो इतिहास, संस्कृति, दर्शन र जीवन पद्धत्तिलाई पनि जोगाउन सक्ने बताइन्। ‘भाषा मौलिक पहिचानको आधार स्तम्भ हो। हरेक समुदायले आफ्नो भाषा जोगाउन सके मात्र आफ्नो इतिहास, संस्कृति, दर्शन र जीवनपद्धति जोगाउन सक्छ,’ उनले भनिन्।

डंगोलले भाषाको गरिमा संरक्षण गर्न स्थानीय भाषाको व्यावहारिक प्रयोगलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्। यस सन्दर्भमा बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको दिन विशेष ऐतिहासिक महत्वको रहेको उनको भनाइ छ। यसले नेपालको बहुभाषिक तथा बहुसांस्कृतिक गरिमालाई थप उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरिन्।

भाषाको संरक्षणसँगै यसको व्यावहारिक प्रयोग पनि उत्तिकै आवश्यक रहेकोमा उनले जोड दिइन्। सरकारी सेवा प्रवाह, सूचना पाटी, लिखत, दस्तावेज र जनसम्पर्कका क्षेत्रमा स्थानीय भाषाको प्रयोग बढाउँदै लैजानुपर्ने उनको माग छ। यस अभियानलाई अझ व्यापक बनाउन उनले काठमाडौं महानगरपालिकाका तर्फबाट र व्यक्तिगत रूपमा सबैलाई अनुरोध गरेकी छन्।

काठमाडौं महानगरपालिकाले विद्यालय तहमा स्थानीय पाठ्यक्रममार्फत नेपाल भाषा र तामाङ भाषाको अध्ययन-अध्यापन गराउँदै आएको छ। साथै, कार्यालयका चिठीपत्र, सूचना, दस्तावेज तथा अभिलेखमा नेपाल संवत्को प्रयोगलाई अनिवार्य गरेको छ र स्थानीय लिपिलाई संकेत चिन्हमा प्रयोग गर्दै आएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

Nmkhabar का युवा, प्रविधि र संस्कृति संवाददाता। स्टार्टअप, डिजिटल रूपान्तरण र युवा पुस्ताका सवालमा अग्रणी कभरेज।

सम्बन्धित समाचार