मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ढोरपाटन सिकार आरक्षमा पहिलोपटक हिउँचितुवा गणनाका लागि ५६ क्यामेरा जडान

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन ५६ वटा सेन्सर क्यामेरा जडान गरिएको छ। वैशाख ११ गतेदेखि सुरु भएको यो कार्य १५ दिन लगाएर सम्पन्न भएको हो।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०९

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन ५६ वटा सेन्सर क्यामेरा जडान गरिएको छ। वैशाख ११ गतेदेखि सुरु भएको यो कार्य १५ दिन लगाएर सम्पन्न भएको हो।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार, तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरसम्मको उच्च हिमाली भेगमा पुगेर क्यामेराहरू जडान गरेका छन्। सुवेदीले भने, “हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ। अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ।”

नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म यसको यकिन सङ्ख्या पत्ता लाग्न सकेको थिएन। रेन्जर सुवेदीले भने, “सम्भावित चितुवाको बासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ।” आरक्षको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफल बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको छ। सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने गरी छवटा सिकार ब्लकमा क्यामेरा राखिएको छ। हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी शरीरको धब्बाका आधारमा छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ। यसबाहेक, जङ्गलमा भेटिएको दिसा सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ भने पदचिह्न तथा सङ्केत सर्वेक्षणका आधारमा पनि सङ्ख्या गणना गरिनेछ। यो कार्यमा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए।

वैशाख ११ गतेदेखि राख्न थालिएको क्यामेराहरू ४५ दिनपछि सङ्कलन गरी आरक्ष कार्यालयमा ल्याएर हिउँचितुवाको सङ्ख्या गणना गरिनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार