खुसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले २७ करोड रुपैयाँ अपचलन गरी फरार भएपछि बचतकर्ताहरू विगत चार वर्षदेखि आफ्नो रकम फिर्ता पाउन संघर्षरत छन्।
सहकारी विभागका अनुसार, खुसी सहकारीमा कुल २७ करोड रुपैयाँ बचतकर्ताको रकम थियो। हालसम्म करिब ११० बचतकर्ताले ९ करोड रुपैयाँ दाबी गर्दै सहकारी प्राधिकरणमा निवेदन दिएका छन्। संस्थाका अध्यक्ष अभय घिमिरे सहित मातृका घिमिरे, ज्ञानेन्द्र घिमिरे र सुबोध घिमिरेले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ। झापा स्थायी ठेगाना भएका यी दाजुभाइ नेकपा एमाले निकट मानिन्छन्।
बचतकर्ता सुशील थापाले आफ्नो १९ लाख रुपैयाँको मुद्दती निक्षेप प्रमाणपत्र सञ्चालकहरूले गायब गरिदिएको बताए। मुद्दती निक्षेप परिपक्व हुने समयमा कर्मचारीलाई पठाएर प्रमाणपत्र मागेको तर फिर्ता नदिएको थापाको भनाइ छ। थापाजस्तै मुद्दती निक्षेपको प्रमाण नभएका बचतकर्ताको संख्या सयौं हुन सक्ने अनुमान छ।
खुसी सहकारीले खिचापोखरी न्युरोडमा प्रधान कार्यालय राखेको थियो। कालीमाटी, चाबहिल र गंगबुमा पनि कार्यालयमार्फत कारोबार गरेको थियो। हाल प्रधान कार्यालयसहित सबै सेवा कार्यालय बन्द छन्।
पीडितहरूले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान अन्तर्गत संघर्ष समिति गठन गरी प्रहरी, सहकारी प्राधिकरण र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दवाव दिइरहेका छन्।
सञ्चालकका बुबाले बचतकर्तालाई पैसा फिर्ता दिने आश्वासन दिएको थापाले सुनाए। यद्यपि छोरा कहाँ छन् भन्ने कसैलाई थाहा नभएको पनि बुबाले बताउने गरेका छन्।
खुसी सहकारी खिचापोखरीबाट करिब ९ करोड रुपैयाँ बराबर कर्जा लिएका ऋणीहरू समेत फरार रहेको अर्की बचतकर्ता राधा महर्जनले बताइन्। संस्थाको कार्यालय रहेका घरहरूमा भाडा समेत नतिरेको अवस्था छ, प्रधान कार्यालयको तिर्न बाँकी भाडा एक करोड छ।
कालीमाटी सेवा केन्द्रका कतिपय बचतकर्ता मजदुरी काम गर्ने रहेको उनले बताइन्। उनले खुसी सहकारीलाई समस्याग्रस्त घोषणा गर्न प्रदेश सरकारले किन रोकेको भन्दै प्रश्न गरिन्। समस्याग्रस्त घोषणा भएमा बचतको केही रकम भए पनि फिर्ता पाउने आशमा उनी छिन्।
