जनकपुरधामका माली किसानले २० रुपैयाँमा बेचेको फूलको माला बजारमा ८० रुपैयाँमा बिक्री हुँदा बिचौलियाले वार्षिक करोडौं नाफा कुम्ल्याइरहेका छन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि फूलखेतीलाई निरन्तरता दिइरहेका छन्। उनका कान्छा छोरा लक्ष्मी भण्डारीले पनि बुबाको बाटो पछ्याउँदै यो पेसालाई धानिरहेका छन्।
लक्ष्मीका अनुसार, फूलखेती उनीहरूको परिवारको मात्र नभई समग्र माली समुदायको पहिचानसँग जोडिएको पेसा हो। मिथिलाञ्चल क्षेत्रमा माली समुदायले उत्पादन गरेको फूललाई धार्मिक रूपमा अत्यन्त पवित्र मानिन्छ र विभिन्न चाडपर्व तथा अनुष्ठानमा यसको प्रयोग अनिवार्य हुन्छ।
डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरिरहेका लक्ष्मीले यसमा धान वा तरकारी खेतीभन्दा धेरै मेहनत लाग्ने बताए। मौसम, सिँचाइ, मल, मजदुर र सुरक्षाको उचित व्यवस्थापन चुनौतीपूर्ण छ। थोरै ध्यान नपुग्दा पनि उत्पादन घट्छ।
एक सिजनमा डेढ बिघामा फूलखेती गर्न करिब साढे दुई लाख रुपैयाँ खर्च हुने लक्ष्मीको भनाइ छ। तर, बजार राम्रो हुँदा पनि बल्लतल्ल डेढदेखि दुई लाख रुपैयाँसम्म मात्र नाफा हुने गरेको उनले गुनासो गरे।
किसानले एउटा माला २० देखि २५ रुपैयाँमा व्यापारीलाई बेच्दा बजारमा त्यही माला ५० देखि ८० रुपैयाँसम्ममा बिक्री हुन्छ। यसले किसानले पसिनाको मूल्य नपाइरहेको र बिचौलियाले फाइदा उठाइरहेको प्रस्ट देखिन्छ।
जनकपुरधाममा दैनिक करिब १२ हजारसम्म फूलको माला बिक्री हुने अनुमान छ, तर स्थानीय किसानले यो विशाल बजारमा अपेक्षित स्थान पाउन सकेका छैनन्। यसको मुख्य कारण भारतबाट आउने सस्तो फूल हो।
खुला सिमानाको फाइदा उठाउँदै चोरी-निकासीमार्फत भित्रिने भारतीय मालाले स्थानीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरू मर्कामा परेका छन्। भारतबाट फूल नआउँदा मात्र व्यापारीहरू स्थानीय किसानकहाँ आउने गरेको उनीहरू बताउँछन्।
फूलखेतीको प्रक्रिया निकै झन्झटिलो छ। खेत तयार गर्न पाँचपटकसम्म जोत्नुपर्छ र पर्याप्त मलखाद हालेर माटो तयार पार्नुपर्छ। बिरुवा रोपेको करिब ४० दिनपछि फूल फुल्न थाल्छ र एउटा बिरुवाले करिब छ महिनासम्म उत्पादन दिन्छ।
अहिले ‘अफ-सिजन’ भए पनि किसानहरू नयाँ सिजनको तयारीमा जुटेका छन्। तर, समयमा रासायनिक मल नपाउनु, सिँचाइको अभाव र मजदुरको समस्या उनीहरूका लागि प्रमुख चुनौती बनेको छ।
रुपैठा क्षेत्रमा मात्रै माली समुदायले २५ देखि ३० बिघा क्षेत्रफलमा फूलखेती गर्दै आएका छन्। यहाँका ठूला किसान राजकुमार भण्डारीले आफ्ना उत्पादन काठमाडौँलगायत अन्य प्रमुख सहरहरूमा पनि पठाउँछन्।
राजकुमारका अनुसार, बजार त पाइन्छ तर लागतअनुसार मुनाफा हुँदैन। मजदुरको अभावले काम गर्न कठिन भइरहेको छ। खेतबाटै फूल चोरी हुने र बोटबिरुवा नष्ट गरिदिने डरले रातदिन रेखदेख गर्नुपर्छ।
पुनित भण्डारीले सरकारले फूलखेतीलाई कहिल्यै प्राथमिकतामा नराखेको गुनासो गरे। अहिलेसम्म कुनै अनुदान वा तालिम नपाएको भन्दै उनले सरकारले यो पेसाको महत्त्व बुझ्न आवश्यक रहेको बताए।
सरकारले सीमा क्षेत्रमा कडाइ गरी चोरी-निकासी रोक्नुपर्छ। आधुनिक तालिम, उन्नत प्रविधि र बजारीकरणमा सहयोग गरे फूलखेतीबाट मनग्य आम्दानी सम्भव छ।
यो पुर्ख्यौली पेसा मधेसको संस्कृति र परम्परासँग जोडिएको छ। समयमै राज्यको ध्यान नपुगे माली समुदायको पहिचान बोकेको फूलखेती इतिहास बन्ने खतरा छ, पुनित भण्डारी चिन्तित छन्।
