संघीय संसद्को बजेट (बर्खे) अधिवेशन सोमबारदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ। यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।
राष्ट्रपति पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। बैठकमा अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिइनेछ। मन्त्रिपरिषद् हेरफेरबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे पनि सदनलाई अवगत गराइनेछ।
प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुनेछ। नियमावली, २०७९ को नियम २६० बमोजिम जारी बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुनेछ। नियमावलीको मस्यौदा पनि पेस गरिनेछ।
सरकारले जारी गरेका आठ अध्यादेश संसद्मा पेस हुनेछन्। यसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ समावेश छन्। राष्ट्रियसभा बैठकमा पनि यी अध्यादेश पेस हुनेछन्।
