पश्चिम एसियामा जारी द्वन्द्वले स्टेट अफ् हर्मुज ठप्प हुँदा नेपालका सडक कालोपत्रेको काम रोकिएको छ, जसले निर्माण व्यवसायीलाई १० अर्ब रुपैयाँ घाटा पुर्याएको छ। कच्चा इन्धन ढुवानी हुने मुख्य मार्ग अवरुद्ध हुँदा नेपालमा बिटुमिन आयात रोकिएको छ।
बिटुमिनको अभावले देशभरका सडक कालोपत्रेको काम ठप्प भएको छ। नारायणघाट–बुटवल र नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनासहित हजारौं निर्माण परियोजना प्रभावित भएका छन्।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले ६५ किलोमिटरमध्ये ९८ प्रतिशत पिच र कालोपत्रेको काम सकिएको बताए। बाँकी २ प्रतिशत कालोपत्रे गर्न बिटुमिन नहुँदा काम ठप्प भएको उनले जानकारी दिए।
९८ प्रतिशत सम्पन्न खण्डमा पनि सडक मजबुत र चिल्लो बनाउन अन्तिम चरणमा अलकत्रा हाल्न सकिएको छैन, खनालले जानकारी दिए। ढलानतर्फ ९० प्रतिशत काम भए पनि अन्य निर्माण सामग्रीको अभाव नभएकाले काम भइरहेको छ।
यो परियोजना दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत् सञ्चालन गरिएको हो। एडीबीले १८ करोड ६८ लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराएको यस आयोजनाको कुल लागत २५ करोड ६५ लाख अमेरिकी डलर अनुमान गरिएको छ। एडीबीको ऋण सहयोगमा २०७५ माघदेखि सुरु भएको पूर्वी खण्ड विस्तारको समयावधि साउनसम्म छ। तर, काम सम्पन्न हुनेमा खनाल ढुक्क छैनन्। सुरुवाती चरणमा रुख कटान, पोल हटाउने तथा कोभिडका कारण पनि आयोजनाले गति लिन सकेको थिएन।
यस्तै, निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक योजना पनि निर्माण सामग्री अभावमा गति लिन सकेको छैन। नागढुङ्गा–मुग्लिन सडक योजनाको पश्चिम खण्डतर्फका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बिटुमिनको भाउ बढेपछि व्यवसायीको गुनासो आएको स्वीकार गरे। सडक कालोपत्रेको काम सुस्ताएको छ।
उक्त खण्डमा ६ पुल निर्माण गर्नुपर्नेमा ४ वटा अन्तिम चरणमा छन्। २ वटा पुल घर हटाउनुपर्ने समस्या सुल्झिएपछि निर्माण सुरु भएको उनले बताए।
निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेयले इन्धन र बिटुमिनको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई ठूलो घाटा भइरहेको बताए। युद्धअगाडि १३९ रुपैयाँ प्रतिलिटर रहेको डिजेल अहिले २२५ पुगेको छ भने बिटुमिन ७५ बाट १५५ रुपैयाँ प्रतिकेजी पुगेको छ।
सरकारले तत्काल मूल्य समायोजनसँगै निर्माण सामग्रीको उपलब्धतामा ध्यान दिनुपर्ने उनको माग छ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक श्यामबहादुर खड्काले बिटुमिन अभावले देशभरका सडकको कालोपत्रे ठप्प रहेको स्वीकार गरे। व्यवसायीको मूल्य समायोजनको मागबारे सरकारसँग संवाद भइरहेको उनले बताए।
निर्माण व्यवसायी महासंघको तथ्यांकअनुसार डिजेल तथा बिटुमिनको मूल्यवृद्धिका कारण हालसम्म निर्माण व्यवसायीलाई करिब १० अर्ब रुपैयाँ घाटा भएको छ। मूल्यवृद्धिको असरले देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना धरासायी बनेका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा देशभर १४ लाख ६६ हजार २ सय ८५ किलोलिटर डिजेल खपत भएकोमध्ये निर्माण व्यवसायीले करिब २० देखि २५ प्रतिशत प्रयोग गरेका छन्। डिजेलमा प्रतिलिटर ८६ रुपैयाँ मूल्यवृद्धिले व्यवसायीलाई करिब १४ अर्ब ६६ करोड रुपैयाँ अतिरिक्त भार परेको छ। यसबाट हालसम्म करिब ६ अर्ब रुपैयाँ घाटा भइसकेको छ।
बिटुमिनमा प्रतिकेजी ७५ रुपैयाँ मूल्यवृद्धिले करिब ७ अर्ब १३ करोड रुपैयाँ अतिरिक्त लागत थपिएको छ। यसबाट हालसम्म करिब ४ अर्ब रुपैयाँ घाटा पुगेको महासंघले जनाएको छ। फागुनदेखि असारसम्म मात्रै करिब ९ करोड ५१ लाख ४ हजार १ सय ६० केजी बिटुमिन खपत हुने गरेको तथ्यांकमा उल्लेख छ।
सरकारले तत्काल मूल्य समायोजन नगरे काम ठप्प पारेर आन्दोलनमा उत्रिने निर्माण व्यवसायीको तयारी छ, यसबारे सरकारसँग संवाद भइरहेको सडक विभागले जनाएको छ।
