अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि मंगलबार जिल्ला अदालतमा उनीहरुविरुद्ध अभियोग दायर गरियो। प्रकरणमा अधिकारी, काभ्रेपलाञ्चोकका ३४ वर्षीय प्रकाश पाठक र झापाका ५६ वर्षीय ताराप्रसाद खरेल प्रतिवादी छन्।
प्रहरी अनुसन्धानले अधिकारीको निर्देशनमा अख्तियार प्रमुख राईलाई सङ्गठित धम्की दिएको पुष्टि गर्छ। उनीहरूले ‘ईजीएन’ नामक आतङ्ककारी सङ्गठनको नाममा राईलाई राजीनामा दिन दबाब दिए।
राजीनामा नदिए ज्यानै लिने धम्की पत्र, ह्वाट्सएप र भिडियोमार्फत दिइएको थियो। प्रहरीका अनुसार, उनीहरूले आपराधिक लाभ (एक्सटर्सन) लिन खोजेका थिए। प्रकाश पाठक फिलिपिन्समा लुकीछिपी बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार, प्रतिवादीहरूमाथि ज्यान मार्ने आपराधिक षडयन्त्रको आरोप छ। उनीहरूमाथि आपराधिक लाभ र हुन्डीसम्बन्धी कारोबारको कसुरमा पनि सजाय माग गरिएको छ।
प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गत कारबाही माग गरेको छ। अनुसन्धानले समूहले सङ्गठित आपराधिक योजना बुनेको देखाएको छ। यसबापत एकीकृत कसुरमा थप सजायको मागदाबी गरिएको छ।
प्रहरीका अनुसार, प्रकाश पाठकविरुद्ध ज्यान मार्ने आपराधिक षडयन्त्रको आरोप छ। पाठकमाथि आपराधिक लाभ र हुन्डी कारोबारको आरोप छ। विद्युतीय कारोबार ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत पनि थप सजाय मागिएको छ। प्रदीप अधिकारीमाथि आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुन्डी कारोबार र सङ्गठित अपराधको आरोप छ।
अधिकारी र पाठक दुवै जनालाई एकीकृत कसुरमा समेत थप सजायको मागदावी गरिएको छ। ताराप्रसाद खरेलमाथि आपराधिक लाभ, हुन्डी कारोबार र सङ्गठित अपराधको आरोप छ। उनलाई पनि एकीकृत कसुरबापत थप सजायको मागदावी लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशलकुमार बुढाथोकीले विज्ञप्ति जारी गरे। विज्ञप्तिअनुसार, अर्जुनबहादुर शाही, नविन बस्नेत, जगदम्बे गुरु (सरया किन्नेरा), प्रमोद सेढाई, चाँदमाला श्रेष्ठ, जेनु थापा र रवि सिंघल लगायतको संलग्नता हुनसक्छ। थप प्रमाण खुलेपछि छुट्टै अनुसन्धान प्रतिवेदन पेश गरिनेछ। अनुसन्धान जारी छ।
