मधेशका शिक्षामन्त्री रानीकुमारी तिवारीको कार्यकक्षमा रौतहटको बौधीमाई मेयर प्रदीप यादवले योजनाका चिठी बिचौलियालाई बेचेको आरोप लगाएपछि विवाद चर्किएको छ।
मेयर यादवका अनुसार, बौधीमाई नगरपालिकाको वडा नम्बर ८ को सर्मजुवा प्रावि र वडा नम्बर ५ को सानो कोपुवा प्राविको भवन योजनाका चिठी लिन सर्लाहीका सन्दीप मिश्राले फोन गरेका थिए। यस्तै, वडा नम्बर १ को आधारभूत विद्यालय भवनको चिठी लिन पर्साका प्रभाष यादवले सम्पर्क गरेका थिए। यी चिठीहरू सिधै वडा कार्यालयमा जानुपर्नेमा बिचौलियाको हातमा पुगेको उनको भनाइ छ।
उनले भने, “सम्बन्धित पालिकाका मेयर वा वडाध्यक्ष मन्त्रालयमा पटक–पटक आउँदा चिठी दिँदैनन्। अनाधिकृत व्यक्तिले चिठी लिन फलानो ठाउँमा भेट्नुस् भनेर फोन गर्छन्।”
मेयर यादवले थपे, “दलाल चिठी लिएर घुम्छन्, फोन गर्छन्। यसले योजनाका चिठी मन्त्रालयले नै बेचिरहेको प्रमाणित हुन्छ।”
उनले मन्त्री तिवारीलाई ‘रौतहटको चिठी सर्लाही र पर्साका मान्छेले बिक्री गर्छन्, यो विकृति कहिले अन्त्य हुन्छ?’ भनी प्रश्न गर्दा मन्त्री आफूमाथि खनिएको बताए।
मेयर यादवले मन्त्रीका आसेपासेले आफूलाई होहल्ला गर्दै निकाल्न खोजेको आरोप लगाए। उनले मन्त्री तिवारीले ‘मलाई जे मन लाग्छ, त्यसलाई चिठी दिन्छु। तपाईँ को हो खोज्नेवाला, को हो भन्नेवाला’ भनी आफूमाथि खनिएको दाबी गरे।
उनले यस्तो कार्य गर्ने मन्त्री तिवारीलाई पदबाट बर्खास्त गर्न मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग माग समेत गरेका छन्।
यता, मन्त्री तिवारीले मेयर यादवसँग विवाद भएको स्वीकार गरेकी छन्। कार्यालय समय सकिएपछि साँझ साढे ५ बजेतिर मेयर यादव आएर जथाभावी आरोप लगाएपछि विवाद भएको उनको भनाइ छ।
मन्त्री तिवारीले अनलाइनखबरसँग भनिन्, “यसबारे म राम्ररी बुझेर भन्छु, कुनै गलत भएको छ भने कारबाही हुन्छ भनेँ। यसरी नबोलिदिनुस् भनेर आग्रह गरेँ। तर उहाँ बोलिरहेपछि म कार्यकक्षबाट निस्किएँ।”
उनले चिठी बेचेको भन्ने विषयमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
