NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रिपरिषद्ले संघीय मन्त्रालय २२ बाट १८ मा झार्यो

मन्त्रिपरिषद्ले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ। प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादन प्रभावकारिताका लागि यो कदम चालिएको हो। नयाँ 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन गरिएको छ, अन्य मन्त्रालयको कार्यविभाजनमा हेरफेर भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
14 May 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
Share:

मन्त्रिपरिषद्ले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ। प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादन प्रभावकारिताका लागि यो कदम चालिएको हो। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको छ। यसले अनावश्यक चालू खर्च कटौती गर्ने लक्ष्य लिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन्।

सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ।

अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहनेछन्।

त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ।

नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो। सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ ले बुझाएको प्रतिवेदनकै आधारमा यो निर्णय भएको दाहालले जानकारी दिनुभयो।

मन्त्रालयको संख्या आवश्यकताभन्दा ठूलो भई चालू खर्च बढेको समस्या समाधान गर्न र राज्य संयन्त्रलाई चुस्त बनाउन यो कदम चालिएको सरकारको भनाइ छ।

मन्त्रिपरिषद्ले कायम गरेका १८ मन्त्रालय

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • कृषि, वन तथा पर्यावरण मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • पूर्वाधार विकास मन्त्रालय
  • भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
  • युवा, श्रम तथा रोजगार मन्त्रालय
  • रक्षा मन्त्रालय
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तन
  • शिक्षा तथा खेलकुद मन्त्रालय
  • सूचना तथा सञ्‍चार मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार