NM Khabar 15 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारी स्वास्थ्य प्रणालीमा चरम लापरबाही, ९ करोडका औषधि गोदाममै म्याद सकिए

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८१/८२ ले सरकारी अस्पतालका गोदाममा ९ करोड ७ लाख १७ हजार रुपैयाँका औषधि म्याद सकिएको औंल्याएको छ। आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने औषधि सरकारी निकायले नगर्दा ठूलो आर्थिक क्षति भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 May 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
Share:

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार सरकारी अस्पतालका गोदाममा ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरका औषधि म्याद सकिएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले यो तथ्य उजागर गरेको हो।

प्रतिवेदनअनुसार, स्वास्थ्य सेवा विभागले खरिद गरेका २८ प्रकारका औषधिको म्याद सकिएको छ। यसको मूल्य ४ करोड ७२ लाख २० हजार रुपैयाँ रहेको छ। त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले किनेका ६ प्रकारका औषधिको म्याद पनि सकिएको छ। यसको मूल्य ४७ लाख ७० हजार रुपैयाँ छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा खरिद गरिएका ६०१ प्रकारका औषधिको म्याद सकिएको पाइएको छ। यसको मूल्य १ करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको १ करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको औषधिको पनि म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको १ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिको म्याद पनि सकिएको छ।

स्वास्थ्य संस्थाले खरिद गरेको औषधिको म्याद सकिएमा, टुटेफुटेमा वा अधिक मौज्दात रहेमा आपूर्तिकर्ताले प्रतिस्थापन गर्नुपर्छ। तर, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूले उक्त शर्त पालना नगर्दा गोदाममै करोडौँका औषधि थन्किएर म्याद सकिएको महालेखाले औँल्याएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार