NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

होल्डिङ सेन्टरका १४ बालबालिका: निःशुल्क शिक्षाले उज्यालो भविष्यको बाटो

काठमाडौंको राधास्वामी सत्सङ्ग व्यास आश्रमस्थित ‘होल्डिङ सेन्टर’का १४ बालबालिकाले निःशुल्क आवासीय शिक्षा पाउने भएका छन्। महानगरले विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी कक्षा १० सम्मको अध्ययन प्रबन्ध मिलाएको छ। आइतबारदेखि उनीहरू नियमित विद्यालय जानेछन्।
Maya Thapa
Maya Thapa
16 May 2026, 4:35 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौंको राधास्वामी सत्सङ्ग व्यास आश्रमस्थित ‘होल्डिङ सेन्टर’मा रहेका १४ बालबालिकाले अब निःशुल्क आवासीय शिक्षा पाउने भएका छन्।

महानगरले विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गर्दै बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध मिलाएको छ।

महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनका विषयमा चार प्रस्तावमा निर्णय गरिएको जानकारी दिइन्।

उनले भनिन्, “पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार सुरक्षित गर्ने दायित्व हामी सबैको हो। त्यसका लागि अविचलित रूपमा काम गरिरहेका छौँ। यो शैक्षिक क्रियाकलाप मात्र होइन, मानवीय सेवा पनि हो। यो सेवाप्रति हामी प्रतिबद्ध छौँ।”

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले बालबालिकाको सपना पूरा गर्न सहयोग गरेको बताए। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) महानगर समितिका अध्यक्ष नवराज पाण्डेले उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिए।

उक्त होल्डिङ सेन्टरमा सुरुमा ६१ जना बालबालिकाको नाम दर्ता भएको थियो। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग भाडाको घरमा बस्न गएका छन्।

हाल प्याब्सनअन्तर्गतका एन्जल हर्ट स्कुल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बूढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शङ्खमूल, हेम्स स्कुल कालोपुल, केएमसी शङ्खमूल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कुल जोरपाटी र सुप्रिम इन्टरनेसनल स्कुल चावहिलसँग सम्झौता भएको छ।

एनप्याब्सनअन्तर्गतका प्रोग्रेसिभ सेकेन्डरी स्कुल चावहिल, नेरिक एकेडेमी बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कुल मन्डिकाटारले पनि बालबालिकालाई पढाउनेछन्।

यी बालबालिका आइतबारदेखि नियमित विद्यालय जानेछन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार