स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा स्क्रब टाइफसको जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ। वर्षायाम र त्यसपछिको समयमा यो सरुवा रोग बढी देखिने गर्छ।
मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले यस रोगबाट बच्न विशेष आग्रह गरेको छ।
स्क्रब टाइफस: जीवाणु र संक्रमण
स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणु (ब्याक्टेरिया) का कारण लाग्ने सरुवा रोग हो। यो जीवाणु मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किरा (माइट) मा पाइन्छ।
संक्रमित माइटले मानिसलाई टोकेपछि यो रोग सर्छ। यो माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरपरका ओसिलो झाडी र घुरानमा पाइन्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन।
स्क्रब टाइफसका प्रमुख लक्षण
स्क्रब टाइफसका बिरामीलाई कडा ज्वरो आउँछ, कहिलेकाहीँ काँपेर पनि ज्वरो आउन सक्छ। अत्यधिक टाउको दुख्ने र पसिना आउने गर्छ।
आँखा रातो हुने र झाडापखाला लाग्ने पनि यसका लक्षण हुन्। किरा (माइट) ले टोकेको ठाउँमा सुरुमा रातो डाबर जस्तो दाग देखिन्छ। पछि त्यो ठाउँमा कालो दाग बस्छ, जुन यो रोगको मुख्य पहिचान हो।
स्क्रब टाइफसबाट बच्ने उपाय
खेतबारी, वनजंगल वा झाडीमा काम गर्दा, अथवा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र गम्बुट (बुट) प्रयोग गर्नुपर्छ। सकेसम्म घाँसघारी वा चउरमा सिधै नबस्ने। बस्नै परे गुन्द्री, दरी वा प्लास्टिक ओछ्याएर बस्नुपर्छ।
ओछ्यान भुइँमा नलगाई खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने व्यवस्था मिलाउनु आवश्यक छ। चउर, बारी तथा घर वरपरका झाडी, घाँस र घुरानहरूलाई नियमित सफा गरिरहनुपर्छ।
घरमा मुसाको वृद्धि हुन नदिन अन्नबाली सुरक्षित भण्डारण गर्ने। मुसा नियन्त्रणका उपाय अपनाउनुपर्छ।
समयमै उपचारले पूर्ण निको
समयमै उपचार भएमा स्क्रब टाइफस पूर्ण रूपमा निको हुन्छ। माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा वा स्क्रब टाइफस लागेको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ।
लापरवाहीले गम्भीर रूप लिने भएकाले मन्त्रालयले समयमै उपचार गराउन आग्रह गरेको छ।
