जन्मकैद सजाय भोगिरहेकी सपना तामाङ सुन्धारा केन्द्रीय कारागारबाट दोस्रो पटक फरार भएकी छिन्।
२५ वर्षीया तामाङ प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षाबीच कसरी भागिन्, अनुसन्धान जारी छ। उनी यसअघि पनि जेलबाट भागेकी थिइन्।
कारागार प्रशासनका अनुसार शनिबार मध्यरात साढे १ बजे उनी कारागारको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएको सीसीटीभी फुटेजमा देखियो। जेलर कृष्ण चापागाईंले घटना सामान्य लापरबाहीभन्दा योजनाबद्ध तयारीको संकेत गरेको बताए।
चापागाईंले सीसीटीभी फुटेज हेर्दा तामाङले लामो समयदेखि योजना बनाएर उपयुक्त अवसर कुरेको देखिएको बताए।
सपना २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका बेला कैदीहरू खुला स्थानमा निस्कँदा भागेकी थिइन्। त्यसको दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गर्यो।
उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी थिइन्। प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरिन्।
रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनायो। प्रहरी अनुसन्धानले तामाङ किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखायो।
पटक–पटक पक्राउ परेर पनि सुधारको मौका दिँदै छाड्ने प्रवृत्तिले उनलाई गम्भीर अपराधसम्म पुर्याएको प्रहरी अधिकारीहरू बताउँछन्।
सुन्धारा कारागारको सुरक्षा जिम्मा डीएसपी शैलेस न्यौपानेको नेतृत्वमा थियो। तर, कैदी फरार हुँदासमेत सुरक्षाकर्मी बेखबर देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्तरिक अनुसन्धान थाल्यो।
एसएसपी प्रवीण धितालका अनुसार सपना तामाङ कसरी भाग्न सफल भइन् र त्यसमा सुरक्षाकर्मीको कमजोरी थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
