NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतको नयाँ नियमले चिया निर्यात ठप्प, अर्बौंको उद्योग संकटमा

भारतीय चिया विकास निगमले ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि विगत दुई सातादेखि नेपाली चिया निर्यात ठप्प भएको छ, जसले वार्षिक रु पाँचदेखि छ अर्बको उद्योगलाई सङ्कटमा पारेको छ। नयाँ नियमअनुसार प्रतिट्रक १८ हजार रुपैयाँ शुल्क र १४ दिनसम्म रिपोर्ट कुर्नुपर्नेछ, नतिजा प्रतिकूल आए चिया जफत हुने प्रावधान छ। नेपाल चिया उत्पादक सङ्घले सरकारलाई भारतसँग तत्काल 'जिटुजी' वार्ता गर्न माग गरेको छ।
Sarita Pandey
Sarita Pandey
20 May 2026, 5:33 am १ मिनेट पढाइ
आकार:
Share:

भारतीय चिया विकास निगमले ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि विगत दुई सातादेखि नेपाली चिया निर्यात ठप्प भएको छ, जसले वार्षिक रु पाँचदेखि छ अर्बको उद्योगलाई सङ्कटमा पारेको छ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो। यो नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक जटिलता थपेको छ।

अध्यक्ष पराजुलीले भने, “चिया निर्यातको यो मुख्य याम हो। अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा छ। तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजाने आँट गर्न सकेका छैनन्। दुई सातादेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन।”

ट्रकैपिच्छे परीक्षण: १८ हजार शुल्क, १४ दिन प्रतीक्षा र जफतको जोखिम

यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो।

तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्नेछ।

प्रतिट्रक नमुना परीक्षणका लागि रु १८ हजार शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट प्रविष्ट गर्छ। परीक्षण असफल भएमा उक्त चिया जफत हुनेछ। यसलाई भारतीय बजार वा अन्य देशमा बेच्न पाइने छैन।

पराजुलीले थपे, “एकातर्फ हरेक ट्रकको नमुना परीक्षणका लागि महँगो शुल्क र समय लाग्ने नियम बनाउनु निर्यातमा पूर्ण अवरोध सिर्जना गर्ने नियत हो। अर्कातर्फ रिपोर्ट प्रतिकूल आएमा चिया नै जफत गर्ने प्रावधान छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका सधैँका लागि बन्द हुनेछ।”

प्रयोगशालाको प्रतिवेदन नआउन्जेल १० देखि १४ दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रूपमा रोकेर राख्ने पर्याप्त पार्किङ स्थल र पूर्वाधार पानीट्ङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ।

वार्षिक ६ अर्बको उद्योग र लाखौं श्रमिकको भविष्य अनिश्चित

नेपाली चियाको मुख्य बजार भारत नै रहँदै आएको छ। नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि लोकप्रिय मानिन्छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मुलुकको २० हजार ६०२ हेक्टर भूभागमा रहेको चिया बगानबाट रु दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो। सोही आवमा नेपालबाट रु चार अर्ब ५९ करोड आठ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो।

मुलुकभर १७० वटा ठुला चिया बगान र १२० वटा साना तथा मझौला चिया बगान छन्। चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन् भने एक लाख श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्।

सरकारलाई ‘जिटुजी’ संवादको दबाब

चिया क्षेत्रमा देखिएको यो गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अबिलम्ब ‘जिटुजी’ संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ। यसका लागि पहल भइरहेको सङ्घले जनाएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार