NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि, विदेशबाट फर्किएका बढी

चालु आर्थिक वर्षमा चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको रोकथाममा सरसफाइ आवश्यक छ।
NM Khabar
NM Khabar
20 May 2026, 12:35 pm १ मिनेट पढाइ
आकार:
Share:

चालु आर्थिक वर्षमा चितवन जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार औलो सङ्क्रमणको आशंकामा परीक्षण गरिएका ३ हजार ९३ जनामध्ये १३ जनामा रोग पुष्टि भएको हो।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले सङ्क्रमण देखिनेमा अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू रहेको जानकारी दिए। औलो रोग एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा सर्ने गर्दछ।

यो रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने र पसिना आएर ज्वरो घट्नेजस्ता लक्षणहरू देखिने गर्दछन्। सङ्क्रमित सबै विदेशबाट आएका बिरामीहरू हुन्।

नेपालमा मुख्य गरी प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम गरी दुई प्रजातिका औलोका परजीवीहरू पाइन्छन्। यीमध्ये भाइभेक्स जातको परजीवी ७० देखि ८० प्रतिशतमा देखिने गरेको छ।

फाल्सिपारम जातको परजीवी औलो रोगका कुल सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशतमा भेटिन्छ। यो परजीवीले मानिसको स्नायु प्रणालीमा समेत नकारात्मक प्रभाव पार्न सक्ने केसीले बताए। विदेशबाट आउने नेपालीमा भने फाल्सिपारम परजीवी बढी भेटिने गरेको छ।

औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले यसको रोकथामका लागि घर, गाउँ र समुदाय सफा राख्नुपर्छ। लामखुट्टेले फुल पार्ने ठाउँहरू पुर्ने तथा सुत्दा झुलभित्र सुत्नेजस्ता सावधानी अपनाउनु आवश्यक रहेको उनको भनाइ छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार