NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको कार्यविधि लागू; विश्वविद्यालयमा २१८ आवेदन

सरकारले ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि एकीकृत कार्यविधि लागू गरेको छ। इच्छुक उम्मेदवारले १० दिनभित्र अनलाइन आवेदन दिनुपर्नेछ। यसैबीच, विभिन्न विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ आवेदन प्राप्त भएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
20 May 2026, 6:07 pm १ मिनेट पढाइ
आकार:
Share:

‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम पदमुक्त भएका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि सरकारले एकीकृत कार्यविधि लागू गरेको छ।

उक्त अध्यादेशअनुसार कर्णाली, चिकित्सा विज्ञान राष्ट्रिय, पाटन, पोखरा, राप्ती तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पदमुक्त भएका थिए।

रिक्त पदमा योग्य, निष्पक्ष र दूरदर्शी नेतृत्व छनोट गर्न स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको अध्यक्षतामा समिति गठन भएको थियो। उक्त समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत गरी लागू गरेको मन्त्रालयले जनाएको छ।

कार्यविधिअनुसार इच्छुक उम्मेदवारहरूले १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। एक उम्मेदवारले बढीमा दुई प्रतिष्ठानका लागि छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

उपकुलपति बन्न चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर तह (एमडी/एमएस वा सोसरह) उत्तीर्ण हुनुपर्छ। सम्बन्धित व्यावसायिक परिषद्मा स्थायी दर्ता अद्यावधिक भएको अनिवार्य छ। मान्यता प्राप्त स्वास्थ्य संस्था वा विश्वविद्यालयमा कम्तीमा १० वर्ष प्राध्यापन अनुभवसहित प्राध्यापक भएको हुनुपर्नेछ। वैकल्पिक रूपमा, स्वास्थ्य सेवाको ११औँ तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष अध्यापन अनुभव आवश्यक पर्नेछ।

उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, ४० वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै राजनीतिक दलको सदस्य वा दलगत जिम्मेवारीमा नरहेको हुनुपर्नेछ। अनुसन्धानतर्फ प्रथम लेखकका रूपमा कम्तीमा दुई र सहलेखकका रूपमा कम्तीमा चार वैज्ञानिक लेख मान्यता प्राप्त जर्नलमा प्रकाशित गरेको योग्यता पनि अनिवार्य गरिएको छ।

कार्यविधिले उपकुलपति छनोटका लागि १०० पूर्णाङ्कको विस्तृत मूल्यांकन मापदण्ड तय गरेको छ। शैक्षिक योग्यता, प्राध्यापन अनुभव, नेतृत्व तथा व्यवस्थापकीय अनुभव, अनुसन्धान तथा प्राज्ञिक लेखन, सोचपत्र, रणनीतिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्तालाई मूल्यांकनको आधार बनाइनेछ।

सोचपत्र र रणनीतिक कार्ययोजना अधिकतम पाँच हजार शब्दको छुट्टाछुट्टै खामबन्दी दस्ताबेजका रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। कभर पेजबाहेक अन्यत्र उम्मेदवारको पहिचान खुल्ने कुनै संकेत वा चिह्न राख्न नपाइने उल्लेख छ।

अन्तिम चरणमा कुल प्राप्तांकका आधारमा योग्यताक्रम तयार गरिनेछ। प्रत्येक प्रतिष्ठानका लागि बढीमा तीनजनाको नाम वर्णानुक्रमअनुसार कुलपति अर्थात् प्रधानमन्त्रीसमक्ष नियुक्तिका लागि सिफारिस गरिनेछ। मूल्यांकन प्रक्रिया निष्पक्ष बनाउन समितिका सदस्य वा विज्ञका नातेदार उम्मेदवार सहभागी हुन पाउने छैनन्। स्वार्थ नबाझिएको स्वघोषणा अनिवार्य गरिएको छ।

यसैबीच, शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको छ।

बुधबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अनलाइनमाध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन्। प्राप्त आवेदनमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ।

पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन प्राप्त भएका छन्। यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको छ।

आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब दुवै मन्त्रालयले छनोट तथा सिफारिस प्रक्रिया अगाडि बढाउनेछन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विज्ञ टोलीले शैक्षिक योग्यता र अनुभव मूल्यांकन गरी योग्य उम्मेदवारको सूची सार्वजनिक गर्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार