NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बर्दिबासमा घरघरमै दूध सङ्कलन, किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान

महोत्तरीको बर्दिबासमा किसान सहकारी संस्थाले घरघरमै दूध सङ्कलन थालेपछि किसानले प्रतिलिटर दुई रुपैयाँ अनुदान र बजार सुनिश्चितता पाएका छन्। नगर कार्यपालिकाको अग्रसरतामा मासिक भुक्तानी र बेसारखेती प्रवर्द्धन कार्यक्रम पनि सञ्चालनमा छ।
Kamala Devi
Kamala Devi
22 May 2026, 3:35 pm १ मिनेट पढाइ
आकार:
Share:

महोत्तरीको बर्दिबासमा किसान सहकारी संस्थाले घरघरमै दूध सङ्कलन थालेपछि किसानले प्रतिलिटर दुई रुपैयाँ अनुदान र बजार सुनिश्चितता पाएका छन्।

बर्दिबास–३ कालापानीका किसान बालकिशोर रायमाझीका अनुसार, पशुपालनका लागि घाँस र चरनको सुविधा भए पनि बजारको सुनिश्चितता नहुँदा समस्या थियो। अहिले नगर कार्यपालिकाको रोहबरमा संस्थाले दूध लिने व्यवस्थाले धेरै सहज भएको उनी बताउँछन्।

गत वैशाखको तेस्रो सातादेखि संस्थाले घरघरमै पुगेर दूध सङ्कलन गर्न थालेको हो। यसअघि होटल तथा चिया पसलमा दूध दिएर भुक्तानी लिन सास्ती व्यहोरेका किसानहरू अब महिनाको अन्त्यमा संस्थामै खोलिएको खातामा एकमुष्ट रकम जम्मा हुने व्यवस्थाले दङ्ग छन्।

बर्दिबास–६ किसाननगरका किसान राजबाबु महतोले “न दूध पुर्‍याउन जाने झन्झट, न भुक्तानीमा कचकच” भन्दै यो व्यवस्था टिकाउ होस् भन्ने आशा व्यक्त गरे। संस्थागत काम हुँदा यो टिकाउ हुने किसानको विश्वास छ।

संस्थाले दूध उत्पादक किसानलाई अनिवार्य सेयर सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ। यसले संस्थाको गतिविधिमा किसानको नियमित रेखदेख पुग्ने र अपनत्व बढ्ने विश्वास लिइएको छ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयले पाँच लाख रुपैयाँको सेयर सदस्यता लिनुका साथै दूध सङ्कलन, भण्डारण र वितरणका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको छ।

नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले किसान सहकारी संस्थालाई वास्तविक किसानसँग जोडेर सुदृढ गराउने पहलकदमी लिइएको बताए। उनका अनुसार, पाँच दशकअघि स्थापित साझा संस्थालाई क्रियाशील बनाएर किसानसँग जोड्न किसान सहकारी संस्थामा परिवर्तित गरिएको हो।

क्षेत्रीले पशुपालन र दूध उत्पादनलाई टेवा पुर्‍याउन तथा यो व्यवसायलाई प्रवर्द्धन गर्न नगर कार्यपालिकाले संस्थागत प्रयत्न थालेको स्पष्ट पारे। नगरपालिका किसानका सबै उत्पादनको बजार सुनिश्चित गर्न लागिपरेको उनको भनाइ छ।

संस्थाले हाल दूध सङ्कलन र बेसारखेती प्रवर्द्धन गरी दुईवटा कार्यक्रम सञ्चालनमा ल्याएको छ। संस्थाका अध्यक्ष भानुभक्त पोखरेलका अनुसार, यी दुवै कार्यक्रममा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको पूर्ण साथ रहेको छ।

दूध सङ्कलन बर्दिबास नगर क्षेत्रका १४ वटै वडाका घरघरबाट गरिने जनाइएको छ। अध्यक्ष पोखरेलले हाल दूध सङ्कलन ३०० लिटरको नजिक रहेको र केही महिनाभित्रै ५०० लिटर पुर्‍याउने योजना रहेको बताए। संस्थामा दूध र दूधका परिकार (पनिर, खुवा, दही, दूध, घिउ) को माग उच्च रहेको र सुलभ मूल्यमा वितरण भइरहेको उनले जानकारी दिए।

यो व्यवस्थाले उत्साहित बनेका किसानहरू अब दुधालु गाईभैँसी थप्ने योजनामा छन्। बर्दिबास जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको स्थानीय तह भएकाले यहाँ पोसिलो घाँस र चरन क्षेत्रको सुविधाले वस्तुपालन सहज हुने बर्दिबास–१४ का रामकुमार अधिकारीले बताए।

सहकारीले प्राङ्गारिक विधिबाट बेसारखेती प्रवर्द्धनको अवधारणा पनि अघि बढाएको छ। सहकारीमार्फत बीउ किन्न सहुलियत दिने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने जिम्मा नगर कार्यपालिका कार्यालयले लिएको अध्यक्ष पोखरेलले बताए। बेसारखेती गर्ने किसानलाई बीउ खरिदका लागि निब्र्याजी ऋणको व्यवस्थासमेत गरिएको छ। यसपालि ३० बिघा जति बेसारखेती गर्ने किसानले कवुलियत गरेका छन्।

अध्यक्ष पोखरेलका अनुसार, संस्थाले हाल दैनिक ३०० लिटर दूध सङ्कलन गरिरहेको छ, जसलाई केही महिनाभित्रै ५०० लिटर पुर्‍याउने योजना छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार