NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बर्डफ्लु नियन्त्रण: १० जिल्लामा ७२ फार्मका ५ लाखभन्दा बढी पन्छी नष्ट

सरकारले बर्डफ्लु नियन्त्रणका लागि १० जिल्लामा विशेष अभियान चलाएको छ। हालसम्म ७२ फार्मका ५ लाख १५ हजार पन्छी, ७ लाख अण्डा र १८३ टन दाना नष्ट गरिएको छ। प्रभावित किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था छ।
Kamala Devi
Kamala Devi
9 June 2026, 8:17 am १ मिनेट पढाइ
आकार:
बर्डफ्लु नियन्त्रण
Share:

झापा, मोरङ र सुनसरीमा सुरु भएको बर्डफ्लुले १० जिल्लाका ७२ फार्ममा करिब पाँच लाख १५ हजार पन्छी सखाप पारेको छ। पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं, भक्तपुर, ललितपुर र नवलपरासीसम्म सङ्क्रमण फैलिएको छ।

सरकारको निर्देशनमा खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाखभन्दा बढी अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको छ। लेयर्स कुखुरा र स्थानीय जातका पन्छी बढी प्रभावित देखिएका छन्।

डा दाहालले बर्डफ्लुको उपचार नभएकाले रोग देखिनासाथ नियन्त्रण गरी फैलन नदिनु नै एकमात्र उपाय भएको बताए। पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प नभएको भन्दै उनले पशु चिकित्सक र स्वास्थ्यकर्मी अहोरात्र खटिएको जानकारी दिए।

काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा छ। चितवन र मुलुकका अन्य भागमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ।

प्रभावित क्षेत्रमा पन्छीजन्य उत्पादन नष्ट भएको दुई महिनापछि मात्र व्यवसाय पुनः सुरु गर्न पाइनेछ।

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार नष्ट गरिएको पन्छीजन्य उत्पादनको लागत मूल्यको ७५ प्रतिशत राहत किसानले पाउनेछन्। लागत मूल्य जिल्लाअनुसार फरक हुने भएकाले प्रमुख जिल्ला अधिकारीलगायत पदाधिकारीको बैठकले निर्णय गर्नेछ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार