दसैंको समयमा काठमाडौं उपत्यकाका उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सकिने व्यवस्था मिलाउने भएका छन्। यो सुविधाका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताए। उनले एउटै सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै कम्पनी फरक परेका कारण दुःख पाउनु नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको स्पष्ट पारे।
विगतमा डिलरहरूले फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताबाट ३०० रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेको गुनासो थियो। कार्यकारी निर्देशक साहका अनुसार अब त्यस्तो शुल्क नलिइने र यो सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ।
काठमाडौं उपत्यकामा संयुक्त बिक्री काउन्टर
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायतका स्थानमा ग्यास उद्योगी, नेपाल आयल निगम, विक्रेता महासंघ र सुरक्षा निकायको संयुक्त समन्वयमा यस्ता काउन्टर सञ्चालनमा ल्याइने विषयमा छलफल भइरहेको छ।
यी काउन्टरहरूमा संकलन भएका फरक–फरक कम्पनीका खाली सिलिन्डर पछि उद्योगीहरूले आन्तरिक रूपमै व्यवस्थापन गर्नेछन्। यो सुविधा व्यवसायी वा डिलरहरूका लागि नभई ग्यास नपाएर सास्ती भोगेका वास्तविक उपभोक्ताका लागि मात्र ल्याइएको घिमिरेले बताए। ग्यास दुरुपयोग नहोस् भन्नका लागि काउन्टरमा उपभोक्ताको परिचय खुल्ने विवरण (नागरिकता वा निस्साको प्रतिलिपि र मोबाइल नम्बर) राखेरमात्र ग्यास दिइनेछ।
आपूर्ति र आगामी नीतिगत तयारी
नेपाल आयल निगमका अनुसार भारतबाट ग्यास आयातमा हाल ठूलो समस्या छैन र आपूर्ति नियमित भइरहेको छ। निगमले बजारको सामान्य खपत क्षमताभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको जनाएको छ।
यद्यपि, ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको र उद्योगहरूले २५०० देखि २७०० रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको आरोप लगाएको छ।
सरकारले देशभर एउटै ब्रान्डको मात्र ग्यास सिलिन्डर उपलब्ध गराउने तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागिएको जानकारी दिएका छन्।
एकल सिलिन्डर प्रयोगकर्तालाई राहत
दसैंका बेला काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिरिने हुँदा यहाँ ग्यासको खपत करिब ४० प्रतिशतले घट्छ। यद्यपि, उपत्यकामै रहने उपभोक्ताहरू जसको घरमा एउटामात्र सिलिन्डर छ र ग्यास सकिँदा पसल–पसल धाउनुपर्ने बाध्यता छ, उनीहरूका लागि यो ‘एक्सचेन्ज’ अफरले चाडपर्वमा ठूलो राहत दिने अपेक्षा गरिएको छ। कम्पनीहरूले कुन–कुन ठाउँबाट सेवा दिने भन्ने विषयको अन्तिम टुंगो लागेपछि एक/दुई दिनभित्रै औपचारिक सूचना जारी हुने निगमले जनाएको छ।
