बाँदरले बाली सखाप पार्ने डरले अन्य खेती जोगाउन नसकिरहेका भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’ आम्दानीको भरपर्दो स्रोत बनेको छ। स्वादिलो र पोषणयुक्त मानिने यो पिँडालुको स्थानीय बजारमा माग र मूल्य बढेपछि किसान व्यावसायिक खेतीमा लागेका हुन्।
तरकारी र खाजाका रूपमा प्रयोग हुने दूधे पिँडालुको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ। भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाका अनुसार, सदरमुकाम र आसपासका हाटबजारमा यो पिँडालु प्रतिकेजी रु ५० देखि रु ८० सम्ममा बिक्री भइरहेको छ।
थापाले बाँदरले क्षति नगर्ने र अन्य बालीको तुलनामा कम मेहनत तथा लगानीमा राम्रो आम्दानी हुने भएकाले किसान पिँडालु खेतीमा लागेको बताए। “एउटै बोटबाट एकदेखि तीन केजीसम्म पिँडालु उत्पादन हुन्छ,” उनले भने, “थोरै जग्गाबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। अहिले गाउँमा धेरैजसोले यसलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन्।”
जिल्लाका अधिकांश ग्रामीण भेगमा बाँदरको आतङ्कले मकै, धान, कोदो जस्ता बाली जोगाउन किसानलाई निकै सास्ती छ। पिँडालु जमिनमुनि फल्ने भएकाले बाँदरले क्षति पुर्याउन सक्दैन।
स्थानीय किसान गीता विष्टले बाँदर र अन्य जङ्गली जनावरबाट जोगिने भएकाले बाँझो छाडिएका खेतबारीमा समेत किसानले पिँडालु रोप्न थालेको बताइन्। पिँडालुको पात र डाँठ बङ्गुरको चारोका रूपमा प्रयोग हुन्छ। यसको बोट बङ्गुरपालन गर्ने किसानले खरिद गरेर लैजाने गरेको उनले जानकारी दिइन्।
विष्टका अनुसार, स्थानीय बजारमा ग्राहकले दूधे पिँडालुलाई अर्गानिक र स्वादिलो खाजाका रूपमा रुचाउँछन्। बजारसम्म पुर्याउँदा सजिलै बिक्री हुने भएकाले किसानलाई बजारीकरणको समस्या नरहेको उनको भनाइ छ।
नियन्त्रण गर्न नसकिएको बाँदरका कारण खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालुखेती गतिलो विकल्प बनेको छ। कम खर्चमा मनग्य आम्दानी हुन थालेपछि भोजपुर नगरपालिकाको बोखिम लगायत जिल्लाका अन्य गाउँमा पनि यसको व्यावसायिक खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ।
