महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सरकारी स्वास्थ्य संस्थाका गोदाममा रु ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका अत्याधुनिक उपकरण लामो समयदेखि प्रयोगविहीन रहेको भयावह यथार्थ उजागर गरेको छ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका यी उपकरण सञ्चालनमा आएनन्। यसले सर्वसाधारण निजी अस्पतालमा महँगो उपचारका लागि जान बाध्य भएका छन्। राज्यको ठूलो लगानी खेर गइरहेको प्रतिवेदनमा औँल्याइएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा जनशक्तिको अभावले २०७२ सालदेखि रु ५ करोड ३७ लाख ८२ हजारको ‘क्याथल्याब मेसिन’ प्रयोगविहीन छ। सोही सेन्टरमा रु २४ करोड ७७ लाख नौ हजारको ‘सिटी स्क्यान सिस्टम’ पनि सञ्चालनमा आएको छैन। १४ थान भेन्टिलेटर र पाँच थान ‘सी–आर्म मेसिन’ समेत निष्क्रिय छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रु ७२ लाख ६० हजार मूल्यका ३०० थान ‘इसिजी केबुल’ थन्किएका छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रु ४ करोड ९० लाख ९५ हजारका ‘एक्स–रे मेसिन’ प्रयोगविहीन छन्। ‘इन्डो युरोलोजी’, ‘ल्याप्रोस्कोपी सिस्टम’, एनेस्थेसिया मेसिन र ‘इलेक्ट्रो कार्डियोलोजी’ उपकरण पनि निष्क्रिय छन्।
सिंहदरबार वैद्यखाना विकास समितिमा ६० प्रकारका मेसिन लामो समयदेखि थन्किएका छन्। ‘सिङ्गल रोटरी ट्याब्लेटिङ मेसिन’, एयर कम्प्रेसर, इन्जेक्ट कोडर, डबल कोन ब्लेन्डर निष्क्रिय छन्। अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर पनि उपयोगविहीन छन्। नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान र १.५ टेस्ला एमआरआई मेसिनसमेत निष्क्रिय छन्।
स्वास्थ्य सेवा विभागले ९६५ हाइड बोर्ड र इलेक्ट्रोनिक वेट स्केल खरिदमा रु ६ करोड ७३ लाख २१ हजार खर्च गर्यो। अघिल्लो वर्ष खरिद गरिएका रु ६ करोड ५३ लाख ९९ हजारका १,३३६ इलेक्ट्रोनिक वेट स्केल प्रयोगमा आएनन्। रु २ करोड ४२ लाख ५४ हजारका १३३ थान सात प्रकारका उपकरण पनि थन्क्याइएका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ‘टेलिथेरापी मेसिन’ चार वर्षदेखि ‘बङ्कर’मै प्रयोगविहीन छ। मेसिनभित्रको रेडियोधर्मी स्रोतको आयु सकिन लागेकाले विकिरण जोखिम बढेको प्रतिवेदनले औंल्याएको छ।
महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपकरणको प्रभावकारी उपयोग सुनिश्चित गर्न सुझाव दिएको छ। नियमित अनुगमन गरी समग्र लगत तयार पारेर व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ।
