हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा उत्पन्न विवादको सत्यतथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन भएको छ। गृह मन्त्रालयमा आइतबार बसेको आकस्मिक बैठकले टोलीलाई तत्काल कार्यक्षेत्रमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा बसेको बैठकमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै मन्त्रालयले हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष टोली यसअघि नै घटनास्थलमा परिचालन गरिसकेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सीमा क्षेत्रमा नागरिक सुरक्षा र शान्ति सुव्यवस्था मजबुत बनाउन जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताए। भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत गृहले सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।
स्थितिलाई नियन्त्रणमा राख्न र दीर्घकालीन शान्ति कायम गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप सुरक्षाकर्मी परिचालन गर्न मन्त्रालयले दुवै निकायलाई आदेश दिएको छ। विवादको स्थायी समाधान र प्रभावकारी समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठकहरू आयोजना गरी पहलकदमी अगाडि बढाएको सहसचिव काफ्लेले जानकारी दिए।
सरकारले गठन गरेको छानबिन टोलीले घटनास्थलको स्थलगत अध्ययन गरी विवादको चुरो पत्ता लगाउनेछ। टोलीले आगामी दिनमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन बुझाउनेछ। मन्त्रालयले स्थानीय प्रशासनलाई शान्ति सुरक्षामा सम्झौता नगर्न र नागरिक सुरक्षामा विशेष ध्यान दिन सचेत गराएको छ।
