सप्तकोशी नदीमा पानीको बहाव खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्। लगातारको वर्षाले नदीको जलसतह बढेको हो।
ब्यारेज नियन्त्रण कक्षका अनुसार आज साँझ ७:१५ बजे नदीमा पानीको बहाव १ लाख ८२ हजार क्युसेक पुगेको थियो। प्राविधिकहरूले जलसतह खतराको बिन्दुमा रहेको र बहाव अझै बढ्दो क्रममा रहेको बताएका छन्।
पानीको निकास सहज बनाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न ब्यारेजका २३ वटा स्लुइस गेट खोलिएको हो।
नदीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पानीको बहाव निरन्तर बढिरहेकाले ब्यारेज तथा तटबन्ध क्षेत्रमा प्राविधिक टोली र सुरक्षाकर्मीले कडा निगरानी गरिरहेका छन्।
