NM Khabar 16 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी सरकारबाट कांग्रेस मन्त्री फिर्ताको निर्णय रोकियो, केन्द्रको निर्देशन पर्खिने

कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा प्रदेश संयन्त्रको बैठक निष्कर्षविहीन भएको छ। मन्त्रीहरूले केन्द्रको निर्देशन नमान्ने अडान लिएको र बैठकमा केहीको अनुपस्थितिले निर्णयमा ढिलाइ भएको छ। कांग्रेसले केन्द्रमा नयाँ गठबन्धनको रणनीति बनाइरहेको छ, जसअनुसार प्रदेश सरकारको भविष्य निर्भर रहनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
16 July 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
कोशी सरकार कांग्रेस मन्त्री
Share:

विराटनगर । कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषयमा प्रदेश संयन्त्रको बैठक निष्कर्षविहीन भएको छ। बिहीबार बसेको बैठकले तत्काल सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गर्न सकेन।

कांग्रेस कोशी प्रदेशका सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायत सहभागी थिए। तर, सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार बैठकमा अनुपस्थित रहे।

मन्त्री सुनुवारले आफू संयन्त्रको बैठकमा सहभागी नहुने बताए। केही मन्त्रीहरू पार्टी सभापति गगन थापाले दिएको निर्देशन नमान्ने अडानमा रहेको दाबी गरिएको छ।

वर्तमान सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पत्रकारहरूसँग कुरा गर्दै आजै प्रदेश सरकारबाट मन्त्रीहरू फिर्ता नहुने जानकारी दिए। उनले प्रदेश सरकारबाट मन्त्रीहरू फिर्ता हुने विषय केन्द्रको निर्णय र निर्देशनमा निर्भर रहेको स्पष्ट पारे।

थापाका अनुसार कांग्रेसले एमालेसँगै नयाँ सहमति गरेर सातै प्रदेशमा सरकार बनाउने, एमालेसँगको प्रयास सफल नभए नेकपासँग मिलेर सबै प्रदेशमा सरकार बनाउने र त्यसो पनि हुन नसकेको अवस्थामा सबै प्रदेशमा प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ। सोही रणनीति अनुसार केन्द्रले एमाले, नेकपा र अन्य साना दलहरूसँग छलफल अघि बढाएको छ।

एमालेसँगको पुरानो सहमति समाप्त भइसकेका कारण नयाँ सिराबाट सबै विकल्पहरूमा दलहरूसँग छलफल सुरू भएको थापाले बताए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार