कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनको शव घर नजिकैको बारीको कान्लामा नग्न अवस्थामा भेटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गत ३ कात्तिक साँझ राजेन्द्रले आफ्नो मोबाइल हराएको भन्दै दिदीको घर पुगेका थिए। त्यहाँ भिनाजुसँग मोबाइल माग्दा नदिएपछि खोसेर फुटाइदिए। त्यसपछि उनी गाउँका साथीहरू लीलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग स्थानीय होटलमा मदिरा पिउन गएका थिए।
पृष्ठभूमि
- राजेन्द्र पौडेलले गत ३ कात्तिक साँझ भिनाजुसँग मोबाइल माग्दा नदिएपछि खोसेर फुटाइदिएका थिए।
- त्यसपछि उनी गाउँका साथीहरूसँग स्थानीय होटलमा मदिरा पिउन गएका थिए।
- मदिरा सेवनपछि सुरु भएको विवादले उग्र रूप लिँदा राजेन्द्रले साथीहरूमाथि आँसी प्रहार गरेका थिए।
साँझ करिब ६ बजे होटलबाट निस्किएपछि उनीहरूबीच मदिरा पिउने विषयमा विवाद सुरु भयो। यो विवाद साम्य पारेर छुट्टिने क्रममा राजेन्द्रले लीलबहादुरको घरमा रहेको मौरीको घारमा लात्तीले हानेपछि झगडा थप चर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विवादकै क्रममा राजेन्द्रले घाँस काट्न प्रयोग हुने आँसीले मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा प्रहार गरेका थिए। यसबाट दुवैलाई सामान्य चोट लागेको थियो। त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किएका थिए।
बदलाको भावनाले निम्तिएको घटना
घर फर्किएपछि आशिषले राजेन्द्रले आँसी प्रहार गर्दा आफूहरूले प्रतिकार नगरेको विषयलाई लिएर बदला लिने सोच बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले विक्रम पुन र लीलबहादुर पुनलाई फोन गरेर बोलाएका थिए। त्यसपछि मिलन विक र महादेव विकसमेत जुटेर राजेन्द्रमाथि आक्रमण गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरू राजेन्द्रको घरमा पुगेर बाहिर बोलाएका थिए। त्यसपछि बाँस, भाटा, लात्ती र मुक्काले कुटपिट गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका राजेन्द्र उठ्न नसकेर घरनजिकैको बारीको कान्लामा लडेका थिए।
राति छोरालाई बोलाउँदा नउठेपछि उनकी आमाले कान्लामै लडिरहेका उनलाई सिरक ओढाएर आफू सुत्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भोलिपल्ट सोमबार बिहान करिब ८ बजे राजेन्द्र मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव घरदेखि करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा नग्न अवस्थामा फेला परेको थियो। मृतकको शरीरमा नीलडाम र चोटपटक देखिएको थियो भने कपडा च्यातिएको अवस्थामा थियो।
पाँच जना पक्राउ, अनुसन्धान जारी
कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा संलग्न रहेको आरोपमा पाँचै जनालाई पक्राउ गरेको एसपी कार्कीले बताए। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लीलबहादुर पुन रहेका छन्।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। घटनामा प्रयोग भएको आशङ्कामा बाँस, भाटा, बियरको बोतल र पानीको बोतलसमेत बरामद गरिएको छ।
राजेन्द्र आमा र भाइसँग घरमा बस्दै आएका थिए। घटनाको दिन भाइ घरमा नभएको र आमा पनि मदिरा सेवन गरेर बसेकाले छोरामाथि भएको आक्रमणबारे थाहा नपाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हत्यामा कसको कति संलग्नता थियो भन्ने विषय अनुसन्धानपछि खुल्नेछ।
