मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बुधबार थप तीन जना आरोहीको शव फेला परेको छ। यससँगै मृतकको सङ्ख्या सात पुगेको छ।
नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अनुसार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको हो।
अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आईएफएमजीए) पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा रहेको टोलीले हिउँ पन्छाएर शव निकालेको हो।
यसअघि आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।
गत असोज ११ गते नार्फाभूमि गाउँपालिका-५ मा करिब पाँच हजार दुई सय मिटर उचाइमा हिमपहिरो गएको थियो।
हिमपहिरोमा सुरुमा १६ जना हराएका थिए। ११ जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए।
नौ जना आरोही तथा सहयोगीहरू अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा उद्धार टोली खटिएको छ।
