नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदको उम्मेदवारी फिर्ता लिने भएका छन्।
सभापति गगन थापासँगको भेटपछि उनले उपसभापतिको उम्मेदवारी फिर्ता लिन सहमति जनाएका हुन्। थापाले रिजाललाई महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली बुधबार सार्वजनिक भएको छ। डा. रिजालले असोज २० गते मंगलबार उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
पार्टीले विधान संशोधन गरी उपसभापतिको संख्या २ बाट बढाएर ४ पुर्याएको छ, जसमा एक वरिष्ठ उपसभापति पनि रहनेछन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् भने पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छिन्।
निर्वाचन समितिले प्रारम्भिक नामावलीमाथि दाबी, विरोध वा आपत्ति भएमा असोज २१ गते बुधबार बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकेको छ। दाबी-विरोध र छानबिनपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरी मतदान प्रक्रिया अगाडि बढाउनेछ।
थापाले रिजाललाई व्यवस्थापन गर्ने भनिएको ‘उपयुक्त पद’ भने अझै खुलेको छैन।
यसअघि: नेपाली कांग्रेसको महामन्त्रीमा पूर्वमन्त्री, मेडिकल व्यवसायी र चिकित्सकसहित ११ जना भिड्दै
