रसुवाको धुञ्चेमा सम्पन्न नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठकले सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षालाई प्राथमिकता दिएको छ। दुई देशका अधिकारीहरूबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण र आपसी समन्वयलाई सुदृढ पार्ने विषयमा विशेष जोड दिइएको थियो।
नेपाली पक्षको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरेका थिए। चिनियाँ पक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए। बैठकले दुई देशबीचको ऐतिहासिक मित्रता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा फलदायी भूमिका खेलेको सहभागी अधिकारीहरूले बताए।
हिमाली क्षेत्रका जनताको दैनिकी, व्यापार र आवतजावतलाई सहज बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिए। कामको सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र सहजीकरणका विषयमा नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष आग्रह गरेको थियो।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ। रसुवा बाहिरका राहदानी भएका र असल चालचलन भएका सवारी चालकलाई आवश्यक प्रक्रिया पूरा गरी केरुङ जान दिने विषयमा पनि सकारात्मक छलफल भएको छ। यसले व्यापार तथा ढुवानी क्षेत्रलाई चलायमान बनाउने अपेक्षा छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, सीमा क्षेत्रमा देखिने समस्या समाधान, सुरक्षा समन्वय र आपसी सहकार्यलाई निरन्तरता दिन केरुङ र रसुवामा आलोपालो बैठक बस्ने प्रावधान छ। सीमा क्षेत्रमा देखिएको सकारात्मक वातावरण र व्यापारिक गतिविधिमा बढ्दो सहजताले रसुवासहित समग्र उत्तरी नाका क्षेत्रमा नयाँ आशा र उत्साह थपेको स्थानीय समाजसेवी मिलन तामाङले बताए।
