NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

परराष्ट्रविद् श्रेष्ठ: नेपाल अब तीन ढुङ्गाबीचको तरुल

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार एमसिसी र एसपिपीपछि नेपालको भूराजनीतिक अवस्था तीन ढुङ्गाबीचको तरुल बनेको छ। उनले नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र वा अखडा बनाउन नहुने धारणा राखे। नेपाललाई शान्तिको क्षेत्रका रूपमा स्थापित गर्न अमेरिका, चीन र भारतले समर्थन गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
Bikram Magar
Bikram Magar
11 July 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
नेपालको भूराजनीति
Share:

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था अब तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन्।

शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ कार्यक्रममा बोल्दै श्रेष्ठले एमसिसी पारित र सेनाले एसपिपी सम्झौता अघि बढाएपछि अवस्था थप संवेदनशील बनेको औंल्याए।

उनले भने, ‘पृथ्वीनारायण शाहलाई कोट गरेर नेपाल दुई ढुङ्गाबीचको तरुल भनिन्छ। तर एमसिसी र एसपिपीपछि नेपाल तीन ढुङ्गाबीचको तरुल भयो। दुईवटा ल्यान लेभर र एउटा स्काई लेभर।’

श्रेष्ठले नेपाल कमजोर देखिए पनि यसको अस्तित्वमाथि चुनौती आए छिमेकी मुलुकहरू पनि प्रभावित हुने चेतावनी दिए।

‘तरुलको अस्तित्व मेट्न खोजे भने वरिपरीका ढुङ्गा पनि टुक्रा–टुक्रा हुन सक्छन्,’ उनले भने।

उनले नेपालको भूराजनीतिमा सन्तुलित कूटनीति आवश्यक रहेको बताए। नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र बनाउन नहुने उनको भनाइ थियो।

‘नेपाललाई वारको सेन्टर, चीन विखण्डन गर्नेहरूको अखडा वा द्वन्द्वको भूमि बनाउनु हुँदैन,’ श्रेष्ठले भने।

उनले नेपाललाई शान्तिको क्षेत्रका रूपमा स्थापित गर्न अमेरिका र चीन दुवैले समर्थन गर्ने बताए। भारतले पनि आफ्नो प्रभाव क्षेत्रभन्दा माथि उठेर समर्थन गर्ने समय आएको उनको भनाइ थियो।

‘अमेरिका र चीनले शान्ती क्षेत्रलाई समर्थन गर्छन्। चीन शक्तिशाली भएकाले भारतले पनि नेपाललाई शान्ति क्षेत्रको रूपमा समर्थन गर्ने बेला आएको छ,’ उनले भने।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार