ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि झरिरहेको पहिरोले पाँच घरपरिवारलाई उच्च जोखिममा धकेलेको छ। सिस्ने खोलाको निरन्तर कटानले सुरु भएको यो पहिरो दिनप्रतिदिन फैलिँदै छ। स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन्।
डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेत सखाप पारेपछि राईबहादुर राई लखेटिएर डाँडाखर्क पुगेका थिए। दुःखसुख गरेर नयाँ ओत हालेको उनको आँगनसम्म अहिले पहिरो आइपुगेको छ। “उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, ज्यान जोगाउन यहाँ आएर घर बनाएँ, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो”, पहिरोपीडित राईबहादुर भन्छन्, “हिउँद होस् वा वर्षा, पहिरो झर्न छाड्दैन। न त कतै जाने ठाउँ छ, न त रातभर निदाउन नै सकिन्छ।”
पहिरोले घरबास मात्र होइन, स्थानीय बासिन्दाको वर्षौँदेखिको मिहिनेत र उब्जाउ जमिनसमेत बगरमा परिणत गरिदिएको छ। अहिलेसम्म सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा बगेको छ। खेतबारी पहिरोमा रुपान्तरण भएपछि किसान जीविकोपार्जनको चिन्तामा छन्।
पहिरो समयमै रोक्न नसके डाँडाखर्कका पाँच घरमात्र होइन, सिङ्गो बस्ती नै सखाप हुने स्थिति छ। “पहिरोको शिरमै गाउँ छ, गाउँका अरू ४० घरपरिवार पनि उत्तिकै जोखिममा छन्”, स्थानीय बीरकाजी राई भन्छन्, “सुरुमै रोकथामका लागि घेराबार वा तटबन्ध बनाइदिएको भए यस्तो बिजोग हुने थिएन।”
पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र सङ्घ तीनै सरकारसँग गुहार मागिसकेका छन्। तर, नियन्त्रणका लागि ठोस र प्रभावकारी काम हुन नसक्दा जोखिम झन् बढेको छ।
पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएर लगिसके पनि राज्यलाई भूमिकर (तिरो) भने निरन्तर बुझाउनुपरेको छ। राज्यबाट पाउनुपर्ने राहत र नियन्त्रणको काम भने हुन नसकेको भन्दै पहिरोपीडितले दुखेसो पोखेका छन्। “पहिरोले जग्गाजमिन बगाएर लगिसक्यो, पहिरोमा भएको जमिनको भूमिकर भने राज्यलाई तिरिरहनुपरेको छ”, पहिरो पीडित गीतामाया राई भन्छिन्, “तर राज्यबाट पहिरो नियन्त्रणको काम हुन सकेन, राहतको कार्यक्रम आउन सकेन।”
डाँडाखर्कको यो समस्या ओखलढुङ्गा जिल्लाभरको प्रतिनिधि उदाहरण हो। जिल्लाका दर्जनौँ स्थानमा दशकौँदेखि ठूला पहिरोले नागरिकलाई पिरोल्ने गरेको छ।
