पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भ्रमणको तेस्रो दिन बुधबार बिहान भएको यो भेटमा मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।
मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको बताएका छन् । उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै त्यसमा पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् ।
मोदीले आफ्नो ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाललाई एक प्राथमिक साझेदार राष्ट्रको रूपमा लिएको बताए । उनले नेपाल र भारतबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको समेत स्पष्ट पारेका छन् ।
