राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत भू-राजनीतिक खिचातानीबाट माथि उठाएर ‘विकास कूटनीति’ मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावनाहरूबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ‘ब्यालेट बक्स क्रान्ति’ को संज्ञा दिँदै नयाँ नेतृत्वले विगतको कुनै पनि ऐतिहासिक बोझ नबोकेको स्पष्ट पारेका छन् । रास्वपाको उदयले सुशासन र जनताप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको छ । अब भारतसँगको सम्बन्धलाई पनि आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
केवल सिमाना जोडेर नपुग्ने भन्दै लामिछानेले दुई देशको अर्थतन्त्रलाई एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गरेका छन् । उनले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण, काठमाडौँ–बेङ्गलुरु डिजिटल कोरिडोर परिकल्पना र पोखरा तथा लुम्बिनीबाट भारतका सहरहरूमा सिधा हवाई उडान हुनुपर्ने उल्लेख गरेका छन् ।
नेपालको जलविद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनामा सहकार्य गर्न सकिने उनको धारणा छ ।
सीमा विवाद र थाती रहेका मुद्दाहरूमाथि चर्चा गर्दै लामिछानेले अति-राष्ट्रवादी नाराले समाधान नदिने तर्क गरेका छन् । यस्ता समस्याहरूलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा व्यावहारिक संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ ।
एक स्थिर र समृद्ध नेपाल भारतको सुरक्षाका लागि पनि रणनीतिक आवश्यकता रहेको उनले बताएका छन् ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा देखाएको आत्मीयता र ‘बोर्डरलाई ब्रिज बनाउने’ उद्घोषलाई स्मरण गर्दै लामिछानेले पुरानो अविश्वास त्यागेर विश्वासको नयाँ जगमा उभिने बेला आएको बताएका छन् । नेपालको युवा नेतृत्व भारतसँग पारदर्शी र परिणाममुखी साझेदारीका लागि तयार रहेको सन्देश उनले दिएका छन् ।
लामिछाने हाल भाजपाको निमन्त्रणामा भारत भ्रमणमा छन् ।
