सरकारको फौजदारी शैलीको धरपकडले लगानीकर्तामा त्रास बढाएको नेपाल उद्योग वाणिज्य महासंघले खुलासा गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा आर्थिक मुद्दामा भएका पक्राउप्रति गम्भीर ध्यानाकर्षण जनायो। अर्थतन्त्रका मेरुदण्ड निजी र बैंकिङ क्षेत्रका उच्च पदस्थलाई प्रारम्भिक अनुसन्धानबिनै ‘मिडिया ट्रायल’ गरिएको महासंघको ठहर छ।
सरकारको यो कार्यले बैंकिङ क्षेत्रको साखमा असर पुर्याउने महासंघको भनाइ छ। कार्यकारी अधिकृतको पक्राउले कर्जा प्रवाह निर्णय क्षमतामा ह्रास आउने विज्ञप्तिमा उल्लेख छ।
यसबाट लगानी संकुचन भई समग्र आर्थिक प्रणालीमै नकारात्मक असर पर्ने महासंघले चेतावनी दियो। सरकारको गतिविधिले व्यवसायीको मान–प्रतिष्ठामा आँच पुग्छ, अतः अनुसन्धान गोप्य राख्न महासंघले माग गर्यो।
देवानी दायित्वका मुद्दाको छानबिन र अभियोजन सोही अनुरूप गर्न सरकारलाई आग्रह गरियो। संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार महासंघले स्मरण गरायो। कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने कानुनी व्यवस्थाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दियो।
महासंघले व्यावसायिक आत्मविश्वास बढाउन र लगानीकर्तालाई सुरक्षित महसुस गराउन सरकारसँग माग गर्यो।
