सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४ बाट नियन्त्रणमा लियो। सेवाग्राहीबाट घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन्।
यादवले कर्जन्हा नगरपालिका–२ मा रहेको सःमिलबाट ल्याइएका तीन ट्रक काठ सहजीकरण गर्ने आश्वासन दिएका थिए। उनले प्रति ट्रक चार हजारका दरले कुल १२ हजार रुपैयाँ घुस मागे।
सेवाग्राहीले घुस मागिएको विषयमा अख्तियारमा उजुरी दिएपछि आयोगले ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गर्यो। त्यसपछि यादवलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्ने कार्य जारी छ।
यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख बेचन चौधरीले घटनाबारे भर्खरै जानकारी पाएको बताए। उनले थप विवरण बुझ्ने प्रयास भइरहेको जानकारी दिए।
