तराईका २६ जिल्लामा २०८३ वैशाखदेखि असारसम्म दुई महिनामा सर्पदंशले १३ जनाको ज्यान लियो, २४७ जना घाइते भए। स्वास्थ्यकर्मीहरूका अनुसार सर्पको विषभन्दा पनि उपचारमा ढिलाइले ज्यान लिन्छ। झारफुकमा अल्झिनु र श्वासप्रश्वास व्यवस्थापनको अभावले धेरै बिरामीले ज्यान गुमाएका छन्। कोहोलपुर मेडिकल कलेजका एनेस्थेसियोलोजिस्ट डा. दीपेन्द्र महासेठका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुजस्ता जिल्लामा वर्षायाममा सर्पदंशका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्छ।
डा. महासेठका अनुसार करेत र गोमनजस्ता न्युरोटक्सिक सर्पले टोक्दा बढी चुनौती हुने गरेको छ। यस्ता सर्पको विषले स्नायु प्रणालीमा असर गर्छ। यसले श्वासप्रश्वासमा अवरोध पुर्याई बिरामीको मृत्यु गराउँछ। केही सर्पको विषले मुटु र रक्तसञ्चार प्रणालीमा पनि असर गर्छ। यसले बेहोस हुने वा हृदयघातसम्म गराउन सक्छ।
सर्पदंशको उपचारमा एन्टिभेनम मात्र पर्याप्त नहुने डा. महासेठ बताउँछन्। विषले श्वासप्रश्वास प्रणालीमा असर गरेपछि बिरामीलाई अक्सिजन चाहिन्छ। भेन्टिलेटर, आईसीयू सेवा र निरन्तर निगरानी आवश्यक पर्छ। विशेषगरी न्युरोटक्सिक सर्पले टोकेको बिरामीलाई २४ देखि ७२ घण्टासम्म भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्छ।
ग्रामीण तथा दुर्गम अस्पतालहरूमा एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर विशेषज्ञ र भेन्टिलेटर व्यवस्थापन गर्न सक्ने जनशक्तिको अभाव ठूलो समस्या बनेको छ। कतिपय स्थानमा एन्टिभेनम भए पनि जटिल बिरामीको श्वासप्रश्वास व्यवस्थापन गर्न नसक्दा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ।
सर्पदंश व्यवस्थापनमा सबैभन्दा ठूलो चुनौती झारफुक र अन्धविश्वास नै रहेको डा. महासेठको भनाइ छ। धेरै ग्रामीण क्षेत्रमा सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टा धामीझाँक्री कहाँ लैजाने चलन अझै छ। विषालु सर्पले टोकेको पहिलो केही घण्टा अत्यन्त महत्त्वपूर्ण हुन्छ। झारफुकमा समय गुमाउँदा जटिलता बढ्ने सम्भावना रहन्छ।
डा. महासेठका अनुसार सर्पले टोकेको सबै बिरामीलाई एन्टिभेनम दिनु आवश्यक हुँदैन। सर्प विषालु हो वा होइन भन्ने कुरा बिरामीको लक्षण र चिकित्सकीय मूल्याङ्कनका आधारमा तय गरिन्छ। पानी सर्पजस्ता अविषालु सर्पले टोकेको अवस्थामा एन्टिभेनम नदिई निगरानीमा राखेर उपचार गरिन्छ।
सर्पदंशको शङ्का लाग्नेबित्तिकै बिरामीलाई शान्त राख्नुपर्छ। टोकेको अङ्गलाई स्थिर राख्नुपर्छ, सकेसम्म चाँडो अस्पताल पुर्याउनुपर्छ। घाउ चुस्ने, काट्ने, जडीबुटी लगाउने वा अत्यधिक कस्सिएर बाँध्ने कार्य नगर्नुहोस्। यस्ता अवैज्ञानिक कार्यहरूले थप जटिलता निम्त्याउन सक्छ।
सर्पदंश रोकथाम उपचारभन्दा सजिलो र प्रभावकारी उपाय हो। घरवरपर सफा राख्नुहोस्, राति टर्च प्रयोग गर्नुहोस्। खेतबारीमा जाँदा जुत्ता र लामो कपडा लगाउनुहोस्। यी उपायले जोखिम कम गर्न सकिन्छ। सर्प देखिएमा आफैं समात्ने वा मार्ने प्रयास नगरी उद्धारकर्तालाई खबर गर्नुपर्छ।
डा. महासेठ भन्छन्, “सर्पले टोकेको शङ्का लाग्नेबित्तिकै झारफुक होइन, अस्पताल पुग्नुपर्छ। समयमै उपचार पाए अधिकांश बिरामीलाई पूर्ण रूपमा बचाउन सकिन्छ।”
