बेलायती गृह मन्त्रालयले बकिङ्घमसायर न्यू युनिभर्सिटी (BNU) को विद्यार्थी प्रायोजन गर्न मिल्ने लाइसेन्स निलम्बन गरेको छ।
यो निलम्बन सेप्टेम्बर ३०, २०२६ देखि लागू भएको हो। लाइसेन्स निलम्बन भएपछि विश्वविद्यालयलाई लाइसेन्स प्राप्त प्रायोजकहरूको सूचीबाट हटाइएको छ। यसबाट बेलायतमा अध्ययनरत करिब २५० नेपाली विद्यार्थीसहित सयौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू चिन्तित बनेका छन्।
वैध भिसा भएका विद्यार्थीहरूले निलम्बन अवधिमा आफ्नो अध्ययन जारी राख्न सक्नेछन्। तर, यदि लाइसेन्स पूर्ण रूपमा खारेज भई विद्यार्थीको भिसा रद्द भएमा उनीहरूले ६० दिनभित्र नयाँ शिक्षा प्रदायक र प्रायोजक खोजेर नयाँ भिसाका लागि आवेदन दिनुपर्नेछ। तोकिएको अवधिमा नयाँ प्रायोजक नखोजे विद्यार्थीले बेलायत छाड्नुपर्नेछ।
गृह मन्त्रालयले विश्वविद्यालयले आफ्नो प्रायोजक कर्तव्यहरूको पालना नगरेकोमा चिन्ता व्यक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रोफेसर डामियन पेजका अनुसार धेरैजसो समस्याहरू विगतका अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गतिविधिहरूसँग सम्बन्धित छन्।
बकिङ्घमसायर न्यू युनिभर्सिटीलाई गृह मन्त्रालयको निर्णयमा स्पष्टीकरण बुझाउन २० कार्य दिनको समय दिइएको छ, जसको अन्तिम मिति अक्टोबर २८, २०२६ हो। यस अवधिपछि निलम्बन फुकुवा हुने वा लाइसेन्स खारेज हुने भन्नेबारे गृह मन्त्रालयले अन्तिम निर्णय गर्नेछ। जनवरी २०२७ को लागि तय भएको भर्ना समीक्षा रद्द गरिएको छ।
