रसुवाको विनाशकारी बाढीपछि फेला परेका तर पहिचान खुल्न नसकेका शवको सामूहिक दाहसंस्कार गरिने छैन। कानूनमन्त्री सोविता गौतमले यस्तो जानकारी दिएकी हुन्। दाहसंस्कार एक अपरिवर्तनीय प्रक्रिया हो। भविष्यमा डीएनए परीक्षण वा वैज्ञानिक प्रमाणबाट पहिचानको सम्भावनालाई सुरक्षित राख्न अस्थायी समाधिको विधि अपनाइएको छ।
मन्त्री गौतमले शव व्यवस्थापनबारे भ्रम नफैलाउन आग्रह गरिन्। राज्यका संयन्त्रहरू उद्धार र शव संकलनमा अहोरात्र खटिएका छन्। पानी र लेदोमा धेरै दिन रहँदा शव फुलेर गल्न थालेको छ। अनुहार हेरेर पहिचान गर्नै नसकिने अवस्था छ।
‘मास क्याजुअल्टी’ को यस अवस्थामा ठूलो संख्याका शव सुरक्षित राख्न निजी अस्पतालका ‘रेफ्रिजरेटेड स्पेस’ समेत अपुग भएको छ। सडक र विद्युत् पूर्वाधार प्रभावित हुँदा बिजुली आपूर्तिमा चुनौती छ। शव खुला राख्दा पानीका स्रोत दूषित भई महामारीको जोखिम बढ्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को निर्देशिकाबमोजिम वैज्ञानिक विधि अपनाइएको छ।
प्रत्येक शवलाई छुट्टै युनिक आइडेन्टिफिकेसन कोड दिइएको छ। भेटिएको स्थान, समय, फोटो, कपडा, गहना, औंठाछाप र डीएनए नमुना सुरक्षित राखिएको छ। व्यवस्थित लगत (रजिस्टर) तयार गरिएको छ।
भोलि डीएनए वा अन्य प्रमाणबाट पहिचान हुनासाथ शव पुनः निकालेर परिवारलाई हस्तान्तरण गरिनेछ। परिवारले आफ्नो धर्म, संस्कार र परम्पराअनुसार अन्तिम बिदाइ गर्न पाउने अधिकार सुनिश्चित रहनेछ।
