भारतीय विदेश सचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न भएको छ। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा दुई देशबीचको समग्र द्विपक्षीय साझेदारीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि विभिन्न भेटवार्ता गरेका हुन्। यस भ्रमणले उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिँदै दुई देशबीचको सहयोगलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।
भेटका क्रममा मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरे। उनले नेपाल-भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्य र हालसम्मको प्रगतिबारे जानकारी गराउँदै नेपाली प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अघि बढाउन सकिने पहल तथा सम्भावित उपलब्धिबारे छलफल गरेको संयुक्त वक्तव्यमा उल्लेख छ। एनएमखबरले यसअघि मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीमा केन्द्रित रहेको जनाएको थियो।
नयाँ क्षेत्रमा सहकार्यको सम्भावना
जारी संयुक्त वक्तव्यमा परम्परागत सहकार्यका क्षेत्रहरू व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्नेमा जोड दिइएको छ। यसका साथै, स्टार्टअप, डिजिटल कनेक्टिभिटी, एआई र खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
विदेश सचिव मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरे। नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रको समीक्षा गर्दै साझेदारीलाई सुदृढ बनाउने उपायबारे छलफल भएको थियो।
नेपालद्वारा बाढी सहयोगप्रति आभार
भेटवार्ताका क्रममा नेपाली नेतृत्वले रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले तत्काल उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ। दुवै पक्षले पछिल्लो समय द्विपक्षीय सहकार्यका परम्परागत क्षेत्रहरूमा बढ्दै गएको संलग्नताप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
भारतीय विदेश सचिव मिश्रीले नेपाल-भारत संसदीय मैत्री समूहका सदस्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसहितका सांसदहरूसँग पनि अन्तर्क्रिया गरे। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यी प्रतिबद्धता र छलफलका विषयहरूलाई ठोस रूप दिने अपेक्षा गरिएको छ।