महोत्तरीको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँकी तीन बालिका अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए। खुट्टा चिप्लेर नदीमा डुब्दा १२ वर्षीया स्नेहाकुमारी, ६ वर्षीया शिवानीकुमारी र १२ वर्षीया अफसाना खातुनको ज्यान गयो। उनीहरू वीरेन्द्र भण्डारीकी छोरीहरू र अजिज नदाफकी छोरी हुन्।
यस्तै, गौशाला नगरपालिका–४ रजखोर गाउँमा खेतको पानीमा डुबेर दुई वर्षीया दीपिका कुमारीको मृत्यु भएको छ। नरेश महतोकी छोरी दीपिका घर नजिकैको खेतमा जमेको पानीमा डुबेकी थिइन्।
चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको छ।
