मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पाँचथरमा बाढीपहिरो: दुई घर, तीन झोलुङ्गे पुल बगायो, मध्यपहाडी सडक अवरुद्ध

पाँचथरको याङवरक गाउँपालिकामा शुक्रबार राति बाढीपहिरोले दुई घर र तीन झोलुङ्गे पुल बगाएको छ। मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जलविद्युत् आयोजना, सडक र खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
पाँचथर बाढीपहिरो
Share:
२०४

पाँचथरको याङवरक गाउँपालिकामा शुक्रबार राति बाढीपहिरोले दुई घर र तीन झोलुङ्गे पुल बगाएको छ। वडा नं १, २ र ३ मा घरगोठ, सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार हालसम्म दुई घर र तीन झोलुङ्गे पुल बगेका छन्। मानवीय क्षति नभएको र वर्षा रोकिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

बाढीपहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा असर पारेको छ। मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध छ। याङवरक–३ को रिजाल भिरमा पहिरो झरेको छ। वडा नं २ को दोभानेमा रहेको डाइभर्सन बगाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले मध्यपहाडी लोकमार्ग सुचारु गराउने पहल भइरहेको बताए। सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण संकलन गरिरहेको छ।

पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमामा पर्ने तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ। हेंवा, काबेली र तमोर नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिमपूर्ण बनेको छ।

याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य जमिनमा पनि बाढीपहिरोले क्षति पुर्याएको स्थानीयवासी तेजबहादुर योङ्याले बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार