गोङ्गबुबाट प्रहरीले एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता पक्राउ परेको पुष्टि गरे। गुप्ता हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँटमा बस्दै आएका थिए।
टोखा नगरपालिका–९, गोङ्गबु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्दा प्रहरीले ४५ राउण्ड गोली, एसएलआर म्याग्जिन र मेटलको नक बरामद गरेको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए।
