नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। यो जितसँगै चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङमा उत्रिएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। चितवनका लागि सिकन्दर रजाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा २ चौका र ४ छक्कासहित ३७ रन बनाए। रवि बोपाराले २८ बलमा ३५ रन जोडे भने अर्जुन साउदले २६ बलमा ३१ रनको योगदान दिए।
पोखराका बलर विपिन खत्री र कुशल भुर्तेलले समान २-२ विकेट लिए। चितवनको इनिङ्समा अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।
रिजन ढकाल र कमल ऐरीको धारिलो बलिङ
१५२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो र ३० रनले पराजित भयो। पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। युवराज समराले १९ रन र किरण ठगुन्नाले १३ रनको योगदान दिए।
चितवन राइनोजका बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, कमल ऐरीले २ ओभरमा ७ रन दिएर ३ विकेट लिँदै पोखराको ब्याटिङ ध्वस्त पारे। पोखराको इनिङ्समा अर्जुन कुमाल र युवराज समराले ३५ रनको सबैभन्दा ठूलो साझेदारी गरेका थिए।
यो जितसँगै चितवन राइनोज चार खेलमा ५ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता, पोखरा एभेन्जर्स भने चार खेलमा शून्य अंकसहित आठौँ स्थानमा छ।