नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ। बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए। शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत पार्टी अहिलेकै अवस्थामा अघि बढ्न नसक्ने बताएका थिए।
शनिबारको बैठकमा महासचिव पोखरेल, उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए। शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमा देखिएका थिए।
उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा उभिएका छन्। आजको बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन्।
हालसम्म धारणा राखेका अधिकांश नेताले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई इन्कार गरिसकेका छन्। आज सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने कार्यक्रम छ।
