NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेस सरकार संकटमा: मुख्यमन्त्री यादव विश्वासको मत पाएको दुई दिनमै अल्पमतमा

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार विश्वासको मत पाएको दुई दिनमै संकटमा परेको छ। मन्त्रालय भागबण्डालाई लिएर गठबन्धनमा रहेका दलहरूबीच सहमति जुट्न नसक्दा सरकार अल्पमतमा पर्ने देखिएको छ। नेकपा सरकारबाट बाहिरिएमा मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढल्ने निश्चित छ।
Arjun Basnet
Arjun Basnet
24 May 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
Share:

मन्त्रालय भागबण्डाको विवादले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार विश्वासको मत पाएको दुई दिनमै संकटमा परेको छ। गठबन्धन दलहरूबीच सहमति जुट्न नसक्दा सरकार अल्पमतमा पर्ने देखिएको छ।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा जेठ ८ गते विश्वासको मत प्राप्त गरेका थिए। यसअघि प्रतिपक्षमा रहेको एमाले, जसपा र जनमत पार्टी बाहिरिएपछि सरकारमा सहभागी भएको थियो।

पुनर्गठित मन्त्रिपरिषद्मा नेकपाले अर्थ मन्त्रालय दाबी गरेपछि विवाद बढेको स्रोतले बताएको छ। ‘नेकपाले अर्थमन्त्रीमा दाबी गरेको छ, तर मुख्यमन्त्रीले अर्थ एमालेलाई दिने सहमति भएको बताएपछि स्थिति गम्भीर देखिन्छ,’ स्रोतले भन्यो।

नेकपाका एक सांसदका अनुसार सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने विषयमा पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ। ‘हामी आन्तरिक छलफलमै छौँ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि सल्लाह भइरहेको छ,’ उनले भने, ‘अहिले केही भन्न सकिँदैन।’

मुख्यमन्त्री यादवलाई एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद गरी ६२ जनाले विश्वासको मत दिएका थिए। प्रदेश सभामा बहुमतका लागि ५१ सांसदको समर्थन आवश्यक पर्छ। यदि नेकपा सरकारबाट बाहिरिएको खण्डमा मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढल्ने निश्चित छ। नेकपा बाहिरिएमा कांग्रेस र एमालेको मात्र ४६ मत हुनेछ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार