NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहटका जंगलमा बाघ गणना सुरु: संरक्षणमा सरोकारवालाको जोड

• रौतहटका सामुदायिक तथा साझेदारी वन क्षेत्रमा बाघको सङ्ख्या यकिन गर्न गणना सुरु गरिएको छ। • डिभिजन वन कार्यालयले बाघ संरक्षण र मानव-बाघ द्वन्द्व न्यूनीकरणमा जोड दिएको छ। • विगतमा रौतहटमा बाघको आक्रमणबाट मानवीय क्षति तथा घाइते भएका घटना भएका छन्।
Kamala Devi
Kamala Devi
25 May 2026, 10:02 am १ मिनेट पढाइ
आकार:
Share:

रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकिन गर्न गणना सुरु भएको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणमा सबै तहको सहभागिता आवश्यक रहेको बताए।

चन्द्रनिगाहपुरमा आयोजित सञ्चारकर्मी लक्षित कार्यक्रममा साहले बाघ पाइने जङ्गल सुन्दर हुने भएकाले यसको संरक्षणमा नागरिक सकारात्मक हुनुपर्नेमा जोड दिए। उनले बाघको सिकार वा यसप्रति दुस्मनी राख्ने कार्य कसैबाट नहोस् भन्ने अपेक्षा व्यक्त गरे।

साहका अनुसार लमाहा नदीको माथिल्लो र तल्लो क्षेत्र, धन्सार वन, हातेमालो सामुदायिक वन, रङ्गपुर साझेदारी वन, गैँडाटार वन, बागमतीको जुडिबेला र पौराइ वन, रामलाल वृन्दावन साझेदारी वन र फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघ बसोबास गर्छन्। बाघले जरायो, चित्तल, बँदेल र बाह्रसिङ्गा जस्ता वन्यजन्तुलाई आहारा बनाउँछ।

नेपालभर बाघको सङ्ख्या ३५५ रहेको तथ्याङ्क प्रस्तुत गर्दै साहले रौतहटमा गणना भइरहेको र छिट्टै सङ्ख्या सार्वजनिक गरिने जानकारी दिए। बाघले सामान्यतया मानिसबाट टाढा रहन रुचाउने भए पनि आत्मसुरक्षा वा सन्तानको सुरक्षाका लागि आक्रमण गर्न सक्ने उनको भनाइ छ।

वि.सं. २०७७ असोज १४ गते चन्द्रपुर–६ का सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। यस्तै, २०७८ असोज २१ गते लमाहा जङ्गलमा यज्ञबहादुर रायमाझी र २०८१ मङ्सिर १५ गते गुजरा–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरी बाघको आक्रमणबाट घाइते भएका थिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार