आठ वर्ष तीन महिनासम्म मधेश प्रदेशको सत्तामा निरन्तर रहेका मधेशवादी दलहरू पहिलोपटक सत्ताबाट बाहिरिएका छन्। २०७४ फागुन ३ गते पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले शपथ लिएयता मधेशको बागडोर मधेशवादी दलहरूकै हातमा थियो।
२०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) को चुनावी तालमेलले प्रदेश २ (हाल मधेश प्रदेश) मा मधेशवादी दलको पहिलो सरकार बनेको थियो। उक्त सरकारले प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी जनकपुरधाम तोक्ने ऐतिहासिक निर्णय गरेको थियो।
समयक्रममा फोरम र राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो। तर, जसपाभित्रको विभाजनले मधेश सरकारमा पहिलो धक्का दियो। २०७८ माघ ३ गते मुख्यमन्त्री लालबाबु राउतले राजपाका ४ जना मन्त्रीहरूलाई बर्खास्त गरेपछि मधेशी एकतामा दरार आएको थियो। यो घटना तत्कालीन केन्द्र सरकारमा रहेको जसपाको विभाजनको प्रत्यक्ष असर थियो।
२०७९ को निर्वाचनले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई एक नयाँ शक्तिको रूपमा स्थापित गर्यो। यसले मधेश प्रदेशमा सत्ता समीकरणलाई झनै अस्थिर बनायो। केन्द्रमा समीकरण फेरिपिच्छे जनकपुरको सत्ता हल्लिन थाल्यो, जसले गर्दा मुख्यमन्त्रीहरू २४ दिनमै पदच्युत हुनेजस्ता विडम्बनापूर्ण अवस्था सिर्जना भयो।
२०७९ पुस २९ गते जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बने। तर, केन्द्रको सत्ता समीकरण बदलिँदा जनमत पार्टीसँगको आन्तरिक टकरावले २०८१ जेठ २३ गते उनले विश्वासको मत गुमाए।
जनमत पार्टीले अग्रसरता लिँदै २०८१ जेठ २५ गते सतिशकुमार सिंह मुख्यमन्त्री बने। तर, केन्द्रमा बनेको नयाँ राष्ट्रिय समीकरणका कारण डेढ वर्षमै उनको सरकार पनि २०८२ असोज १५ गते बहिर्गमनमा पर्यो।
त्यसपछि लोसपाका जितेन्द्रप्रसाद सोनलले २४ दिनमै राजीनामा दिनुपर्यो। एमालेका सरोजकुमार यादवको कार्यकाल पनि छोटो रह्यो। अन्ततः २०८२ मंसिर १९ गते कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भए।
यही क्रममा जनमत पार्टीले समर्थन फिर्ता लिए पनि उसका दुई मन्त्रीले राजीनामा दिएनन्। अन्ततः २०८१ जेठ ७ गते ८ वर्ष ३ महिना लामो मधेशवादी दलहरूको विरासतमा पूर्णविराम लाग्यो। कांग्रेस नेतृत्वको सरकारले जसपा, लोसपा र जनमतका मन्त्रीहरूलाई बर्खास्त गरेसँगै मधेशको सत्ता पहिलोपटक ‘मधेशवादी दलविहीन’ बनेको छ। एक समय सत्ताका खेलाडी रहेका उपेन्द्र यादव र महन्थ ठाकुरका दलहरू आज आफ्नै भूमिमा प्रतिपक्षमा खुम्चिएका छन्।
